
लोकतन्त्र समाचारदाता-
सर्लाही,फाल्गुन १३
सर्लाहीमा फेरी एक जोडीले दाइजो प्रथालाई चुनौती दिदै आदर्श विवाह गरेको छ। जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नं ३ निवासी २५ वर्षीय विमलेश महतो र गोडैता नगरपालिका वडा नं १० सिसौटिया बस्ने २३ वर्षीया नम्रता साहले दाइजो प्रथालाई चुनौती दिदै आदर्श तथा अन्तरजातीय विवाह गरेका छन् ।
पछिल्लो समय समाजमा बिकृतीको रुपमा मौलाएको भागी विवाह र दाइजो प्रथालाई चुनौती दिंदै आदर्श विवाह गरेर यी जोडीले समाजलाई एउटा असल पाठ सिकाएको अधिवक्ता राजेश पासवानले बताए । मधेशको परिप्रेक्ष्यमा जातपातका कारण प्रायस् विवाहमा विवाद उत्पन्न हुने गरेको अवस्थामा, यो विवाहले जातीय भेदभावको अन्त्य गर्नुका साथै समाजमा समानता र एकताको सन्देश दिएको छ। उमेर नै नपुगी भागी विवाह गर्ने किशोर किशोरीहरुलाई यश विवाहले सकारात्मक संदेश दिएको बेहुलीको बुवा नरेश साहले बताए ।
मधेशमा विवाहको क्रममा जातपातको विषय प्रायः एक ठुलो विवादको कारण बनिरहेको हुन्छ। यद्यपि, यस विवाहले जातीय भेदभावको पर्खाललाई तोड्न र समानताको आधारमा एक–अर्काप्रति सम्मान राखेर विवाह गर्ने एक उदाहरण प्रस्तुत गरेको छ। यसले समाजमा रहेको परम्परागत सोचलाई चुनौती दिने काम गरेको छ। आदर्श विवाहको रूपमा यसलाई लिने व्यक्तिहरूको भनाइ छ कि, जातीय भेदभाव र सामाजिक विभाजनका कारण धेरै युवाहरूको प्रेम र समर्पणलाई खारिज गरिन्छ, तर विमलेश र नम्रताको विवाहले त्यस्तो सीमालाई पार गर्दै प्रेम र सामाजिक समानतामा विश्वास राख्ने नयाँ मार्ग प्रशस्त गरेको छ।
यस्ता विवाहले परम्परा र आधुनिकताको सन्तुलन कायम राख्नुका साथै समाजलाई एकताबद्ध बनाउन ठूलो भूमिका खेल्ने विश्वास राख्न सकिने बेहुलाको बुवा उदि नारायण महतोले बताए ।