
मनोज यादव-
सर्लाही,साउन १४
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं पुर्व भुमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न २ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको छ। गत आइतवार राती करिब साढे १२ बजेको समयमा सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा न-१ रतनपुर स्थित फार्महाउसमा उखु काट्नको लागि प्रयोग गरिने धारिलो हतियार फरसा प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ परेका रायका कामदार राम उजैन राय र सोही गाउँका बिरेन्द्र रायलाई जिप्रका सर्लाहीले आज(सोमबार)साँझ पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो रायको हत्या भएको भोलिपल्टै प्रहरीले निजको घरमा काम गर्ने कबिलासी नगरपालिका वडा न-३ घरभई हाल चन्द्रनगर गाउँपालिका वडा न-१ रतनपुर बस्दै आएका २५वर्षीय रायलाई सोधपुछको लागि हिरासतमा लिएका थिए।
घटनाको भोली पल्ट बिहान साढे ९ बजे प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसंधान ब्युरोबाट खटिआएको प्रहरी टोली,जिल्ला प्रहरी कार्यालय र अन्य टिमसँग समन्वय गरि थप अनुसंधान कार्य अगाडी बढाउँदै जाँदा घटना स्थलबाट करिब २०/२५ मिटर पश्चिम बाँसको झ्याङमा रगत तथा तथा कपाल समेत लागेको अवस्थामा फलामको धारिलो हतियार फरसा १ थान र घटना स्थल देखि पश्चिम उत्तरतर्फ रहेको बारीको छेउको बाटो तर्फ सेतो सेण्डो गंजी तिनटुक्रा च्यातेर गोलो भकुण्डो जस्तो बनाई फालेको अवस्थामा फेला परेका थिए।
जिप्रका सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहले पत्रकारहरुलाई दिएको जानकारी अनुसार पक्राउ अभियुक्त बिरेन्द्र राय र पुर्व राज्यमन्त्री राय बिचको जग्गा सम्बन्धि मतभिन्नता र आर्थिक प्रलोभनका कारण हत्या भएको हो। करिब एक महिना अगाडि बिरेन्द्रले राम उजैनलाई पुर्व राज्यमन्त्री रायको घर जग्गाको नक्सा झुक्याई मागि उक्त नक्साको फोटो र भिडियो समेत बनाएका थिए।
घटनाको केही दिन पहिला बिरेन्द्रले राम उजैनलाई पुर्व राज्यमन्त्री रायले मेरो जग्गा ओगटेर घर बनाइ बसेकोले रायको हत्या गरे बापत दुई लाख रुपैया र व्यवसायको लागि एउटा फर्म बनाइदिन्छु भनि प्रलोभन दिएर हत्या गर्न लगाएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए।
घटनाको विषयमा अनुसंधान चलिरहेकोले थप केही जानकारी आएमा सार्वजनिक गर्ने प्रहरी उपरीक्षक सिंहले जनाएको छ।