काठमाडौं साउन ६ , सेयर बजारमा दोस्रो कारोबार दिन पनि १५ अर्ब माथिको कारोबार भएको छ । साताको पहिलो करोबार दिन आइतबार बजार परिसूचक नेप्से ६१.६१ अंक (२.५४ प्रतिशत) ले बढेर २४८५.९४ को बिन्दुमा बन्दा हुँदा कारोबार रकम १५ अर्ब नाघेको हो ।
१६ असारमा २०३७.०९ को बिन्दुमा बन्द भएको नेप्से त्यसयताको १५ कारोबार दिनमा नै ४४८.८५ अंक (२२.०३ प्रतिशत) ले बढेको छ । छोटो अवधिमा नेप्से परिसूचमा उच्च वृद्धि भएकोले त्यसले लगानीकर्मा जोखिम समेत बढाएको छ ।
आइतबार लगतार चौथो कारोबार दिन नेप्से परिसूचक ५० अंकभन्दा माथिको वृद्धि भएको हो ।
गत सातको मंगलबार नेप्से ७०.१८ अंक, बुधबार ५४.०४ अंक र बिहीबार ५९.६८ अंकले बढेको थियो ।
आइतबार पनि नेप्से परिसूचक सोही गतिमा बढ्दा कारोबार लगतार दोस्रो दिन पनि २०७८ भदौयताकै उच्च देखिएको छ । जतिबेला बजार परिसूचक नेप्से करिब ३२०० को बिन्दुमा पुगेको थियो ।
गत बिहीबार १५ अर्ब ५५ करोडको कारोबार भएको बजारमा आइतबार पनि १५ अर्ब २३ करोडको कारोबार भएको हो ।
१ लाख ७७ हजार ४६० वटा कारोबारमा ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
आइतबार नेप्सेमा सबै उपसमूहहरु बढेको छन् । बजारलाई लिन गर्ने बैंकिङ उपसमूह नै ३.८६ प्रतिशतले वृद्धि हुँदा बजार परिसूचक उच्च अंकले बढ्न मद्धत गरेको छ । व्यापार उपसूचक ६.८० प्रतिशतले बढ्दा होटल तथा पर्यटा उपसूचक ४.२१ प्रतिशतले बढेको हो । आइतबार बजारमा कारोबार भएका २४२ सूचीकृत कम्पनीमध्ये १८१ कम्पनीको सेयरमूल्य बढेको छ । ५६ कम्पनीको मूल्यमा गिरावट हुँदा ५ कम्पनीको स्थिर छ ।
आइतबार कारोबार भएकामध्ये युनाइटेड मोदी हाइड्रोपावर र समता घरेलु लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
यस्तै हिमालयन बैंकको सेयरमूल्य ९.९९ प्रतिशत र गणपति लघुवित्तको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको हो ।
सेयरमूल्य घट्ने कम्पनीको शीर्ष स्थानमा सिक्लेस हाइड्रोपावर छ । जसको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । नेपाल एसबीआई डिबेन्चर २०८३ को मूल्य ६.८४ प्रतिशतले गिरावट हुँदा ग्लोबल आईएमई ब्यालेन्स फण्डको इकाइमूल्य ५.९२ प्रतिशत र माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य ५.५४ प्रतिशतले घटेर बन्द भएको छ ।
आइतबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये सोल्टी होटलको सेयर सर्वाधिक ३४ करोड ११ लाखको कारोबार भएको छ ।
त्यस्तै हिमालयन रि–इन्स्योरेन्सको ३० करोड ६७ लाख र कुमारी बैंकको २७ करोड ९४ लाखको सेयर कारोबार भएको छ । अनलाइन खबर