Loktantra Khabar National Weekly
Ad

सर्पदंशका बिरामीहरुको उपचारका लागि तराई मधेसका गाउँघरमा अझैपनि झारफुक र धामीझाँक्री कै भर

लोकतन्त्र खबर
२ श्रावण २०८१

मनोज यादव—- सर्लाही,साउन २

गर्मी र वर्षाका कारण सर्लाहीमा सर्पदंशका घटनाहरुमा बृद्धि भएको छ।

प्रचण्ड गर्मीका बीच परेको पानीले खेतबारी तथा अन्य ठाउँका दुलाहरू पुरिएर विषालु सर्पहरू बाहिर निस्किन थालेपछि सर्पदंशको घटनामा वृद्धि भएको हो।

सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पातामा औसत रुपमा दैनिक ६ देखि ८ जना र कहिलेकाही १० जना भन्दा पनि बढीको दरले सर्पदंशका विरामी उपचारको लागि आउने गरेका छन्।

यस्तै जिल्लाको लालबन्दी नगरपालिका वडा न-१ नवलपुर स्थित रहेको जिल्लाको एकमात्र सर्पदंश उपचार केन्द्रमा पनि दैनिक ५ देखि ७ जनासम्म सर्पदंशका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

प्रादेशिक अस्पताल मलंगवाको तथ्यांकअनुसार २०८१ सालको सुरुवातसँगै गत बैशाख १ गते देखि असाढ २७ गतेसम्म महिला,पुरुष र बालबालिकाहरु गरि जम्मा 462 जना सर्पदंशका बिरामीहरु उपचार गराएका छन् ।

यसैगरी नवलपुर स्थित सर्पदंश उपचार केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ को बैशाखदेखी चैत्र मसान्तसम्म जम्मा ४७२ जना सर्पदंशका बिरामीहरु उपचार गराएका छन् ।

सर्पदंश उपचार केन्द्र नवलपुरका चिकित्सक डा.सन्तोष कुमार साहका अनुसार बर्षाको मौसममा सर्पहरु बढी निस्कने भएकोले जेठदेखि असोजसम्म सर्पदंशका बिरामीहरु बढी संख्यामा आउने गरेका छन् ।

अरुबेला कहिलेकाही फाट्टफुट्ट मात्र बिरामीहरु आउने गरेपनि बर्षा लागेपछि दैनिकजसो सर्पले टोकेका अथवा टोकेको भन्ने शंका लागेका मनिसहरु उपचार केन्द्रमा आउने गरेको डा.साहले बताए ।

सर्पदंश उपचार केन्द्रमा गम्भीर अवस्थाका बिरामीहरुको लागि आइसियु र भेन्टिलेटर हुँदाहुँदै पनि त्यसलाई चलाउने दक्ष जनशक्तिको अभावका कारण गम्भीर किसिमका बिरामीहरुलाई जनकपुर ,बिरगंज लगायत शहरका सुविधासम्पन्न अस्पतालमा रेफर गर्नु पर्ने बाध्यता रहेको डा.साहले बताए ।

नवलपुरको सर्पदंश उपचार केन्द्रमा लालबन्दीसहित इश्वरपुर, हरिवन,हरिपुर,बागमती नगरपालिका र महोत्तरीको बर्दीबास तथा आसपासका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा मलंगवासहित कौडेना,चक्रघट्टा,बसबरिया, ब्रम्हपुरी,पर्सा,चन्द्रनगर गाउँपालिका तथा गोडैता र कबिकासी नगरपालिकासम्मका सर्पदंशका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

मलंगवादेखि मात्र २ किलोमिटरको दुरीमा भारतको बस्तीहरु पर्ने गरेकाले प्रादेशिक अस्पतालमा आउने सर्पदंशका ७ जना बिरामीहरु मध्ये ५ जना भारतीयहरु नै हुने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

सर्पले टोक्ने बित्तकै कुनै अलमलमा नपरि समयमा उपचार गराउन आउने ९५ प्रतिशत भन्दाबढी बिरामीहरु निको हुने गरेको छ, तर सर्पले टोकेपछि स्वास्थ्य उपचार नगराई झारफुकको लागि धामी झाँक्रीकहाँ जाने र स्वास्थ्य अवस्था नाजुक भएपछि मात्रै अस्पताल आउने बिरामीलाई उपचार गर्न निकै कठिनाइ हुने गरेको चिकित्सकहरु बताउँछन्।

पुरानो रुढीबादी परम्परा र अन्धविश्वासका कारण अझैपनि तराई मधेसका गाउँघरमा सर्पदंशका बिरामीलाई उपचारको लागि अस्पताल पुर्याउनुको साटो झारफुकको लागि धामी झाँक्रीकहाँ लाने गरिएको छ।

धामीझाक्री र झारफुकको भ्रममा परेका अधिकांश विरामीहरुले अकालमै ज्यान गुमाइसकेका छन जसको तथ्यांक अस्पतालसँग उपलब्ध छैन । सर्पदंशका घटनामा खेतबारीमा काम गर्ने मानिसहरु बढी पर्ने गरेका छन्।

खेतमा काम गर्दा,घाँसपातको काम गर्दा र घरमा शौचालय नहुँदा अध्याँरोमा दिसापिसाव गर्न बाहिर निस्कँदा सावधानी अपनाउन चिकित्सकहरुको सुझाव छ।

सर्लाहीमा यतिबेला ढोडिया, धामन,हरहरा लगायत विष नभएका तथा गोमन, करेत, भाइपर (सुगासाँप) लगायतका विषालु सर्पहरु छ्यापछ्याप्ती देखिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्: