Loktantra Khabar National Weekly
Ad

प्राकृतिक विपत्तिमा परी दुई दिनमै १४ जनाको मृत्यु

लोकतन्त्र खबर
२४ असार २०८१

काठमाडौं असार २३ , मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ । असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‌कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट तनहुँ र स्याङ्जामा ३/३ जनाको मृत्यु भएको छ । काभ्रे, पर्वत र दाङमा २/२ तथा काठमाडौं र उदयपुरमा १/१ जनाको मृत्यु भएको छ ।

शुक्रबार रातिदेखिको अविरल वर्षाले तराई मधेशमा डुबान र पहाडमा पहिरोको प्रकोप देखिएको थियो । त्यसबाट १४७ परिवार प्रभावित भएका छन् ।

घर, सडक लगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ । राष्ट्रिय आपत्‌कालीन सञ्चालन केन्द्रमा अभिलेख भएका १०४ घटनाबाट १४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि काठमाडौं उपत्यका सहितका पूर्वी भागमा तुलनात्मक रूपमा मौसममा सुधार देखिएको छ । तर आज सुदूरपश्चिम र कर्णाली प्रदेशको तल्लो भाग भने प्रभावित हुनेछ । सोमबारदेखि मौसममा आजको भन्दा पनि धेरै सुधार देखिने पूर्वानुमान छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: