Loktantra Khabar National Weekly
Ad

कृतिम अभाव सृजना गरि मलखादको कालोबजारी गर्नेलाई कडा कार्यवाही गरिने जिल्ला प्रशासन कार्यालय सर्लाहीको चेतावनी

लोकतन्त्र खबर
१७ असार २०८१

मनोज यादव—
सर्लाही,असाढ १६

कृतिम अभाव सृजना गरि मलखादको कालोबजारी गर्ने सहकारी तथा डिलरहरुलाई कडा कार्यवाही गरिने जिल्ला प्रशासन कार्यालय सर्लाहीले चेतावनी दिएको छ।

प्रत्येक वर्ष रोपाइँको सिजनमा कृषि कार्यको लागि अतिआवश्यक पर्ने मलखादको चरम अभाव हुँदै आएको छ।

यस्तो बेला जिल्लामा संचालित सहकारी तथा डिलरहरु मल खादको कृतिम अभाव सृजना गरेर सरकारी अनुदानको मलमा पर्ने मूल्य भन्दा बढी रकम थप गरेर किसानहरुलाई बिक्री गर्ने गरेका छन् ।

सोही कार्यलाई निरुत्साहित गर्न किसानलाई मलखाद बिक्रीवितरण गर्दा बढी नाफा खाने तथा कालोबजारी गर्ने त्यस्ता सहकारी संस्था तथा डिलरहरुलाई हदैसम्मको कडा कार्यवाही गर्ने चेतावनी दिएको सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले बताए ।

यसका लागि आज(बिहीबार) सूचना समेत जारी गरिसकेको उनले जानकारी दिए।सहकारी संस्थाको नाममा खोलिएका केही डिलरहरु बिचौलियाको काम गर्दै आएका छन् ।

यस्ता डिलरहरुले बजारमा मलखादको कृतिम अभाव सृजना गरि कालोबजारी गर्दै आएकाले सर्लाहीका किसानहरुलाई कृषि कर्मको लागि मलखादको अभाव हुन नदिन थप कोटा बढाउनको लागि प्रदेश सरकारसँग पहल समेत भइरहेको सहायक प्रजिअ धिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्: