
लोकतन्त्र समाचारदाता—
सर्लाही,असाढ ११
सर्लाहीको कबिलासी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ मा शिक्षा कृषि ,शिक्षा,स्वास्थ्य ,भौतिक पुर्वाधार ,वातावरण तथा संचारलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
सोमबार वडा न-३ मदनपुर स्थित वाल्मीकि आश्रममा सम्पन्न ११ औं नगर सभामा नगरप्रमुख ब्रम्हदेव रायको आदेशमा नगर उपप्रमुख पुनम कर्णले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ७९ करोड ३ लाख ८९ हजार रुपैयाँ विनियोजन गरेको प्रस्तुत गर्नुभएको छ ।
शिक्षा कृषि ,शिक्षा,स्वास्थ्य ,भौतिक पुर्वाधार ,वातावरण तथा संचार,कबिलासी नगरपालिकाको समृद्धिको मुल आधार” भन्ने नाराका सम्पन्न ११ औ नगर सभा मार्फत उपप्रमुख कर्णले यस आ.व मा कृषिलाई विशेष प्राथमिकतामा राख्दै खडेरी परेको अवस्थामा पनि नगरपालिका भित्रका सबै किसानको खेतखेतमा बोरिङ द्वारा सिंचाइ सुविधा पुर्याउनको लागि नगरपालिकाले नै विद्युत महसुल तिर्ने गरि कृषि मिटरको व्यवस्था गरिदिन लागेको जानकारी गराउनुभयो।
राष्ट्रिय भूमि आयोगसँग समन्वय गरि भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनको लागि पनि आवश्यक बजेट व्यवस्थापन गरेको उहाँले जानकारी गराउनुभयो।
उपप्रमुख कर्णले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रममा नगरपालिकाले आगामी वर्षको बजेट तथा कार्यक्रमहरुलाई आवश्यक्ता अनुसार परिवर्तन र परिमार्जन गर्न सकिने गरि योजना बनाइएका कार्यहरु संचालनमा गतिशीलता ल्याउने गरि बजेट विनियोजन गरेको उल्लेख्य गरिएको छ।
नगरप्रमुख रायको अध्यक्षता तथा मधेस प्रदेश सांसद जंगिलाल रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको ११ औ नगरसभा तथा कार्यपालिकाको पहिलो बैठकमा विशिष्ट अतिथि प्रदेश सांसद शकुन्तला देवी,जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह, प्रमुख प्रशासकीय अधिकृत विष्णु यादव ,समाजसेवी एवं राजनितीकर्मी बिनय कुमार कर्ण,वडा न-९ सलेमपुरका वडा अध्यक्ष राम दिनेश राय,वडा न-६ जमुनियाका वडाअध्यक्ष पुरुषोत्तम राय,वडा न-३ मदनपुरका वडाअध्यक्ष राम विश्वास रायसहित सबै वडाका वडाअध्यक्ष,कार्यपालिका सदस्य, जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि ,स्थानीय नगरबासी र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन स्वास्थ्य शाखा संयोजन संजय कुमार झाले गरेका थिए।