Loktantra Khabar National Weekly
Ad

आयआर्जनसँग जोड्न सर्लाहीका हरुवाचरुवा दलित लगायत लक्षित वर्गको जिविकोपार्जनका लागि बाख्रा तथा सुंगुरको पाठा वितरण

लोकतन्त्र खबर
५ असार २०८१

मनोज यादव—-
सर्लाही ,असाढ ४

मधेस प्रदेशको मध्य भागमा पर्ने सर्लाही जिल्लाका ग्रामीण क्षेत्रमा अहिले पनि धेरै नागरिक गरिबीको रेखामुनि छन्।

ज्याला, मजदुरी र अरुको खेतमा हलियाको काम गरेर दैनिकी चलाउनुपर्ने उनीहरुको बाध्यता छ । आयआर्जनको कुनै माध्यम छैन भने रोजगारको अवसर पनि छैन ।

ज्याला मजदुरी गरेपछि मात्र दुई छाक खान र एकसरो लुगा लगाउन पाउने अवस्थाका परिवारलाई भेटेरिनरी असपताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीले आयआर्जनसँग जोड्न थालेको छ ।

हरुवाचरुवा तथा दलित समुदायलाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउन मधेस प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा विज्ञ केन्द्र सर्लाहीको आर्थिक वर्ष २०८०/०८१ को पशु पन्छी पालन कार्यक्रम अन्तर्गत स्वीकृत वार्षिक कार्यक्रम अनुसार जिल्लाको लालबन्दी नगरपालिका,कबिलासी नगरपालिका तथा चन्द्रनगर र रामनगर गाउँपालिका हरुवाचरुवा दलित लगायत लक्षित वर्गलाई सतप्रतिशत अनुदानमा समुहगत रुपमा एक-एक वटा बोकासहित प्रत्येक घरधुरी दुई-दुईवटा बाख्रा तथा बंगुरको पाठाहरु वितरण गरेको विज्ञ केन्द्र सर्लाहीका निमित्त प्रमुख उपेन्द्र कुमार सिंहले बताए ।

उनले पहिलो लटको दुईवटा बच्चा पैंचोको रुपमा सम्बन्धित समूहलाई फिर्ता गर्नुपर्ने सर्तमा उनीहरूलाई बाख्रा दिइएको उनले बताए । फिर्ता गरिएको उक्त बच्चा पुनः नजिकैको अर्को लक्षित वर्गलाई यसैगरी पाल्नको लागि दिइने निमित्त प्रमुख सिंहले बताएका छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेको प्रमुख आतिथ्यता तथा उर्जा,सिंचाइ खानेपानी मन्त्री बेची लुंगेलीको विशिष्ट आतिथ्यतामा चारवटै पालिकामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि १ सय ५८ वटा बाख्रा,४ वटा बोका र ४२ वटा बंगुरका पाठाहरु वितरण गरिएको छ।

वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री न्यौपानेले पछिल्लो समय यहाँका किसानहरु उत्पादन बृद्धिका लागि आ-आफ्नो खेतबारीमा विभिन्न किसिमका रसायनीक मलको प्रयोग गरेर जानीजानी माटोलाई रोगी बनाइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए।

उनले रसायनीक मलको प्रयोगले माटोको अम्लियपन बढेर जाने र विस्तारै माटोको उत्पादन शक्तिमा समेत ह्रास आउने भएकोले रसायनिक मलको सट्टामा घरमै तयार गर्न सकिने कम्पोस्ट मल र गंड्यौला मल प्रयोग गर्न उनले किसानहरुलाई सुझाव दिएका थिए।

जिल्लाको लालबन्दी न.पा मा श्री उजागर कृषि सहकारी संस्था लिमिटेड नवलपुरसँग को साझेदारीमा आयोजना भएको वितरण कार्यक्रममा नगरप्रमुख बासुदेव अधिकारी,नगर उपप्रमुख कल्पना पाख्रिन ,प्रदेश दुग्ध विकास बोर्डका निर्देशक शंकर साह,वड न-१ का वडाध्यक्ष हरि बहादुर भट्टराई ,विज्ञ केन्द्र सर्लाहीका श्याम सुन्दर यादव,उजागर कृषि सहकारी नवलपुरका अध्यक्ष जितेन्द्र कुशवाहा लगायत कृषिसँग आबद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो।

यसै कार्यक्रम मार्फत सहकारीका अध्यक्ष कुशवाहाले कृषि सम्बन्धि समस्याको न्युनिकरणका लागि विभिन्न ९ बुंदे मागहरु राखेर कृषि मन्त्री न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए।

चारवटै बाख्रा वितरण कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको काम मतस्य विकास अधिकृत दयाराम हरिजनले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: