
मनोज यादव—
सर्लाही,असाढ २
हिन्दु र मुस्लिम धर्मावलम्बीहरु एकै थलोमा शिर झुकाउने मन्दिर हो मलंगवाको मलंगबाबा मन्दिर।
मधेस प्रदेश अन्तर्गत पर्ने सर्लाहीको सदरमुकाम मलंगवाको नामाकरण पनि यसै मन्दिरको नामबाट गरिएको छ।हिन्दुहरुको लागि मन्दिर र मुस्लिमहरुको लागि मजारको रुपमा रहेको यो पवित्र धार्मिक स्थल प्रचारप्रसार तथा संरक्षणको अभावमा ओझेलमा परेको छ।
जिल्लाको पुर्वपश्चिम लोकमार्ग सडक खण्डमा पर्ने लालबन्दी नगरपालिका वडा न-१ नवलपुरदेखि २६ किलोमिटर दक्षिण सदरमुकाम मलंगवा र अन्तर्राष्ट्रिय सीमा क्षेत्रको भारतीय भुमि सोनवर्षादेखि २ किलोमिटर पश्चिममा अवस्थित रहेको मलंगवाबाबालाई हिन्दु धर्मावलम्बीहरुले सन्त मलंगवावाको मन्दिर र मुस्लिम सम्प्रदायका व्यक्तिहरुले मलंगवाबाबाको मजार नामाकरण गरेर मान्दै आएका छन्।
हिन्दु तथा मुस्लिम दुवै सम्प्रदायको संयुक्त आस्था तथा भरोसाको केन्द्रको रुपमा रहेको यस किसिमको धार्मिक स्थल सर्लाहीको मलंगवा बाहेक नेपाल र भारतको अन्य कुनै स्थानमा देख्न पाईदैन्। मलंगवावाको मन्दिर (मजार) ले ५ धुर क्षेत्रफल जमीन ओगटेको छ ।
सोही जमिनमा हिन्दु धर्मग्रन्थ अनुसार भगवान विष्णुको प्रतिकको रुपमा रहेको सयौँ वर्ष पुरानो पिपलको रुखमुनी मलंगबाबाको मन्दिर(मजार) रहेको छ। यस मन्दिरसम्म पुग्न मलंगवा-सोनवर्षा सडक खण्डमा पर्ने गोरखकाली प्रहरी चौकी नजिक पुर्वतर्फ पक्की ढलान सडक बनाइएको छ।
यस भेगमा वसोवास गर्ने विभिन्न जातजाती, भाषा, धर्म तथा सम्प्रदायका व्यक्तिहरुको संयुक्त आस्था र भरोसाको रुपमा मलंगवावालाई पुज्ने गरिएकोले नै सन्त मलंगवावाको नाम विस्तारै अपभ्रंश हुदै मलंगवा रहन गएको हो।
मलंगबाबाका पुजारी अकबर अली साहका अनुसार, सन्त मलंगवावा एक अलौकिक शाक्ति र आकर्षक व्यक्तित्व भएका योगी (फकिर) थिए। उनको अलौकिक शाक्तिको चर्चा टाढा टाढासम्म हुने गरेको थियो ।
उनको त्यही अलौकिक शाक्तिले यस क्षेत्रमा हैजा, अनिकाल,अकाल मृत्यु, अतिवृष्टी ,अनावृष्टी, आगलागीलगायतका दैविक तथा प्राकृतिक प्रकोप हुन नदिई यहाँका बासिन्दाहरुलाई दुःख विपतबाट मुक्ति दिलाउँथे ।
मलंगवावाको मन्दिर (मजार)मा गई जुनसुकै कुरा मागे पनि पुरा हुने जनविश्वास रहेको छ । यहाँ निःसन्तान दम्पती सन्तान ,निर्धनले धन, विद्यार्थीहरु अध्ययनमा सफलता ,वेरोजगारहरु नोकरी आदी प्राप्तिको चाहना लिएर भाकल गर्ने र भाकल पूरा भएपछि चादर र प्रसाद चढाउन जाने श्रद्धालुहरुको संख्या दिनदिनै बढ्दै गइरहेको छ।
हालको मलंगबाबाको मन्दिर रहेको स्थानमा पहिला जंगल रहेको थियो । त्यही जंगल भित्र एउटा सानो कच्ची छाप्रो बनाएर सन्त मलंगबाबा बस्दै आएको र त्यही छाप्रोभित्र सन्त मलंगवावाले समाधी लिएको जनविश्वास छ। मलंगवावाको देहावसान पछि उनलाई त्यही स्थानमा मुस्लिम धर्मपरंम्परा अनुसार दफनाईएको थियो।
मलंगवावाको बास्तविक नाम मोहम्मद जन्नत अलि शाह उर्फ हाजी मलंग जिन्दा शाह हो । तत्कालिन समयमा पुर्खाहरुले मोहम्मद जन्नत अलि शाहको नामले पहिचान गर्ने गरेको र सोही नाम यस भेगमा प्रख्यात रहेको थियो ।
मलंगवा नगरपालिका वडा न-३ का स्थानीय निवासी गोकुल साहका पिता सोनफी साहले आफ्नो भाकल पुरा भएपछि कच्ची झोपडीको स्थानमा एउटा मन्दिरको निर्माण गरिदिएका थिए।साहले निर्माण निर्माण गरिदिएको उक्त मन्दिर वि.स १९९० सालको महाभुकम्पकको समयमा भत्किए पछि हाल भत्किएकै स्थानमा अर्को सानो मन्दिर (मजार) निर्माण गरिएको छ ।
मलंगवावा को हुन् ? कहाँबाट आए ? भन्ने प्रश्नको उत्तर पाउन कठीन भएपनि उनको महिमालाई मान्दै दुवै सम्प्रदायका व्यक्तिहरु उनको मन्दिर(मजार) अगाडी शीर झुकाउँदै आइरहेका छन्।
मलंगबाबाको जन्म चैत महिनामा भएको विश्वास गरिन्छ। सोही विश्वासलाई कायम राख्दै उनको जन्मदिनको अवसर पारेर प्रत्येक वर्ष चैत्रको महिनामा एक दिन मन्दिर परिसरमा ठुलो मेलाको आयोजना हुँदै आएको छ। उक्त मेलामा हिन्दु र मुस्लिम दुवै साम्प्रदायका व्यक्तिहरु एकैसाथ पुजा तथा चादर पोसी अर्थात मलंगवाबाबाको समाधीमा चादर चढाउने गरेका छन् ।
मेलामा सहभागी हुन र मलंगबाबाको दर्शन गर्न सर्लाहीसहित रौतहट ,महोत्तरी ,धनुषा,बारा,पर्सा, सिरहा,सप्तरी जिल्ला र छिमेकी भारतको विभिन्न क्षेत्रका हिन्दु तथा मुस्लिम साम्प्रदायका श्रद्धालुहरु ठूलो संख्यामा आउने गरेका छन् ।
आफुले गरेका भाकल तथा मन्नत पुरा भएपछि मलंगवावाको मंन्दिर (मजार) मा हिन्दु धर्मावलम्बीहरुले कुखुरा, हाँस, पाठी, परेवा, बोकाको बली चढाई पूजाअर्चना गर्ने गरेका छन् भने मुस्लिम साम्प्रदायका व्यक्तिहरु मलंगबाबाको मजारमा विभिन्न रंगका चादर ओढाएर सुख र सम्बृद्धिको कामना गर्दै प्रार्थना गर्ने गरेका छन् ।
कतिपय श्रद्धालुहरु भाकल तथा मन्नत पुरा भएपछि मलंगबाबालाई चढाईएको बली मन्दिरको हाता वरिपरि पकाएर प्रसाद स्वरुप परिवारका सदस्य , छरछिमेकी, नातेदार र कुटुम्बलाई बोलाएर खाने र खुवाउने पनि गरेका छन्।
मलंगबाबाको मन्दिर(मजार) हिन्दु तथा मुस्लिम साम्प्रदायको आस्था र भरोसाको केन्द्रको रुपमा मात्र नभइ यसले दुवै समुदाय बिचको आपसी सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ ।
यस स्थानलाई वहुधार्मिक आस्थाको केन्द्रको रुपमा विकास गर्न नगरपालिकाको तर्फबाट समय समयमा विभिन्न कामहरु हुँदै आए पनि पर्याप्त नभएकोले यसको पुनर्निर्माणको लागि संघमा डिपिआर बनाएर पठाइसकेको वडा न-८ का वडाअध्यक्ष मुकेश जयसवालले बताए। उक्त मन्दिरलाई भब्य र सुन्दर बनाउन बजेटको माग गर्दै प्रदेश सरकारलाई पनि योजना पठाइसकेको साथै वडा स्तरबाट पनि यसपालि मन्दिरको सौन्दर्यीकरणको लागि केही रकम छुट्याइसकेको वडा अध्यक्ष जयसवालले जानकारी दिए।
हालको अवस्थालाई देख्दा मन्दिरको पुनर्निर्माण ,मन्दिर परिसरको सौर्न्दयीकरण, आसपास पाटीपौवा र आन्तरिक तथा बाह्य पर्यटकहरुको बासको लागि धर्मशालाको निर्माण हुन अती आवश्यक रहेको देखिन्छ ।
यस स्थानको बारेमा व्यापक रुपमा प्रचार प्रसारको समेत आवश्यक्ता महसुस भएकोले व्यापक रुपमा यसको प्रचारप्रसारमा जोड दिई यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नसके स्थानीय व्यक्तिहरुको आर्थिक अवस्था समेत उकासिने स्थानीय बुद्धिजीवीहरुको राय छ ।