Loktantra Khabar National Weekly
Ad

साउनदेखि लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र

लोकतन्त्र खबर
३० जेष्ठ २०८१

ट्राफिक प्रहरीले परिचयपत्रमा हुने क्युआर कोडमार्फत लाइसेन्स चेकजाँच गर्नेछन्

सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेहरूलाई राष्ट्रिय परिचयपत्रमै लाइसेन्सको विवरण राखेर दिने भएको छ । लाइसेन्स छपाइमा ढिला भइरहेको तथा राष्ट्रिय परिचयपत्र सर्वसाधारण लिन नजाने समस्याको हल गर्न सरकारले परिचयपत्रमा लाइसेन्सको विवरण राख्न लागेको हो ।

गृह मन्त्रालयले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । गृहअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यससम्बन्धी तयारी पूरा गरिसकेको छ ।

‘१ साउनदेखि राष्ट्रिय परिचयपत्रमै लाइसेन्सको विवरण राख्ने प्रस्ताव अघि बढिसकेको छ,’ विभागका निर्देशक मुकेश केसरीले भने, ‘मन्त्रिपरिषद्बाट निर्णय भएपछि लाइसेन्स छाप्न आवश्यक हुँदैन, परिचयपत्रले नै लाइसेन्सको काम गर्छ । ट्राफिक प्रहरीले परिचयपत्रमा हुने क्युआर कोडमार्फत लाइसेन्स चेकजाँच गर्नेछन् ।’

यसको कार्यान्वयनका लागि सरोकारवाला सबै निकायका प्रतिनिधि समावेश गरेर विभागले एक समिति बनाई गृहकार्य गरिरहेको छ । परीक्षण गर्दा यो योजना सफल भइसकेको विभागले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र विभागका निर्देशक केसरीका अनुसार विभागले हाल दैनिक १८ हजार राष्ट्रिय परिचयपत्र छाप्दै आएको छ । तर, यसको उपयोगिता नभएकाले सर्वसाधारण लिन गएका छैनन् । ३० लाखभन्दा धेरै परिचयपत्र सरकारी कार्यालयमा थन्किएका छन् । अर्काेतर्फ १५ लाखभन्दा धेरै नागरिक लाइसेन्स छपाइको प्रतीक्षामा छन् । परिचयपत्रले नै लाइसेन्सको काम गर्ने भएपछि यो समस्या समाधान हुने आधारमा दुवै निकायले छलफल गरेर यससम्बन्धी प्रस्ताव अघि बढाएका हुन् ।

विभागको प्रस्तावअनुसार लाइसेन्सको फारम भर्न तथा नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिनेछ र यसो गर्दा विभागले बायोमेट्रिकलगायतको दोहोरो विवरण पनि लिनुपर्दैन । यसले सर्वसाधारणलाई पनि सहज हुने र यातायात कार्यालयको कार्यबोझसमेत घट्नेछ ।

राष्ट्रिय परिचयपत्रबाटै लाइसेन्सको काम हुँदा दोहोरो खर्च रोकिने र सरकारको वार्षिक एक अर्ब जोगिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल बताउँछन् । तर, लाइसेन्स छपाइ पूर्ण रूपमा भने बन्द नहुने उनी बताउँछन् । ‘विदेश जाने तथा अत्यावश्यक परेकालाई भने लाइसेन्स नै छापेर दिन्छौँ,’ उनले भने ।  नयाँ पत्रिका

 

प्रतिक्रिया दिनुहोस्: