Loktantra Khabar National Weekly
Ad

अमेरिकाबाट मगाएको वासिङ मेसिनभित्र २० किलो गाँजा

लोकतन्त्र खबर
२८ जेष्ठ २०८१

सामान लिन जाँदा पक्राउ परे दम्पती

अमेरिकाबाट एक थान वासिङ मेसिन काठमाडौं ल्याइयो।

यो गत चैत ४ गतेको कुरा हो।

त्यस दिन अपराह्न ४ बजे कतार एयरवेजको कार्गोबाट वासिङ मेसिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झारिएको थियो।

वासिङ मेसिन बालुवाटारस्थित सुशान्त इम्पेक्स प्रालिकी शान्ति तामाङले मगाएकी थिइन्।

वासिङ मेसिनको बक्सा खोलेर हेर्दा फल्स बटम राखेको भेटियो।

शंकास्पद पाइएपछि भन्सार कार्यालय गौचरले प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोलाई पत्र लेख्यो। पत्रको आधारमा अनुसन्धान अधिकृत सहितको टोली गौचरस्थित कार्यालय पुग्यो।

व्यूरोले फल्स बटम खोल्दा त्यहाँ गाँजा पो रहेछ, २० किलोग्राम। वासिङ मेसिनभित्र गाँजा भेटिएपछि सामान कसले मगाएको हो भन्ने खोजी गरियो।

चैत ४ गते साँझ ५ बजेतिर वासिङ मेसिन लिन भन्सार कार्यालयमा मकवानपुर घर भएकी ३५ वर्षीया शान्ति तामाङ पुगेकी थिइन्। व्यूरोको टोलीले तामाङलाई त्यही नियन्त्रणमा लियो।

बयानका क्रममा तामाङले श्रीमान् सुखल राउत (४२ वर्षका) ले वासिङ मेसिन लिन पठाएको बताइन्। त्यसपछि प्रहरीले चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ बाट उनलाई पक्राउ गर्‍यो।

यो घटनामा व्यूरोले अनुसन्धान गरेसँगै काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भएको छ।

गत शुक्रबार सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

शान्तिका अनुसार उनीहरूले दुई वर्षदेखि सामान विदेश पठाउने र ल्याउनका लागि सुशान्त इम्पेक्स प्रालि कम्पनी चलाउँदै आएका थिए।

मानिसहरूले ल्याएको सामान उनीहरूले विदेश पठाइदिने गर्थे। धेरैजसो सामान भारत पठाउने र बुकिङ गरी सामान अर्डर गरेपछि ल्याएर डेलीभरी गर्ने गरेको तामाङले बयानमा भनेकी थिइन्।

यस काममा तामाङलाई उनका श्रीमानले पनि सहयोग गर्थे। त्यसैक्रममा विशाल जैसवालले अमेरिकाबाट वासिङ मेसिन मगाउन लागेको भनेर खबर गरेका थिए। जैसवाललाई श्रीमानलाई सुखलले चिनेका थिए।

‘म बुटवल कामको सिलसिलामा जाने क्रममा चिनजान भएका जैसवालसँग पक्राउ पर्नुभन्दा दुई महिना अगाडि भेटेर कुराकानी भएको थियो। उनले अमेरिकाबाट वासिङ मेसिन मगाउन लागेको र मेरी श्रीमतीको कम्‍पनीबाट मगाउनुपर्‍यो भनेका थिए,’ उनले बयानमा भनेका छन्, ‘के कति शूल्क लाग्छ पछि सामान रिसिभ गर्ने क्रममा हिसाब गरेर दिउँला भनेपछि मैले सामान अर्डर गरेर इन्भ्वाइस पठाइदिनु भनेको थिएँ।’

जैसवालले अमेरिकामा रहेका नाथन आर मिचेलबाट वासिङ मेसिन अर्डर गरेको इन्भ्वाइस राउतलाई पठाएका थिए। सामानलाई ११ सय अमेरिकी डलर परेको थियो। त्यसबराबर १ लाख ५५ हजार रुपैयाँ जैसवालले राउतलाई दिएका थिए।

त्यसपछि कम्पनीको नाममा रहेको प्रभु बैंकको खातामा रकम जम्मा गरी अमेरिकामा रहेको बैकमा भुक्तानी गरिदिएका थिए। यसरी भुक्तानी गरेपछि फेब्रुअरी २ ८मा उक्त मेसिन भन्सारमा आइपुगेको थियो। सामान क्लियर गर्न उनले चिनेको मान्छेमार्फत् भन्सार एजेन्ट सागर अर्याललाई सम्पर्क गरेका थिए।

वासिङ मेसिन छुटाउन एक लाख ४१ हजार ५ सय लाग्ने भएपछि राउतले जैसवालसँग थप रकम मागेका थिए। रकम दिएपछि अर्यालले थप २० हजार रुपैयाँ नपुगेको भन्दै २० हजार रुपैयाँ थप लिएका थिए।

यसरी रकम बुझाएपछि शान्ति तामाङ भन्सारमा सामान लिन जाँदा पक्राउ परेको बयानमा भनेकी छन्। उनीहरू दुवै जनाले जैसवालका लागि मगाएको वासिङ मेसिनभित्र गाँजा रहेको कुरा पक्राउ परेपछि मात्रै थाहा भएको बताएका छन्।

उनीहरू दुवै जनाविरूद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार सजायको माग गरेको छ।

१० किलोग्राम भन्दामाथि जतिसुकै गाँजा तस्करी गरेको भए पनि दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना ऐनअनुसार मागदाबी गरेको छ।

हुलाक र कुरियार गरी पटक-पटक भित्रिन्छ लागुऔषध

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार हुलाक र कुरियर कम्पनीको प्रयोग गरी विभिन्न सामानमा लुकाएर गाँजा तथा चरेस भित्र्याउने गरेको खुलेको छ।

यसरी भित्र्याउने लागुऔषधको गन्तव्य भारत देखिन्छ। केही पटक भने नेपालकै लागि पनि भित्र्याइएको छ।

२०७६ सालमा ६.४ किलो गाँजा र ७ किलो चरेश क्यानडाबाट नेपाल आइपुगेको थियो। २०७७ साउन ४ गते १.३६ किलो गाँजा अमेरिकाबाट भित्रिएको थियो। त्यही साल चैत २ गते २९ ग्राम र ४६७ ग्राम गाँजा छुट्टाछुट्टै भित्रिएको थियो।

२०७८ फागुन ११ गते ४.४१८ किलो टिएचसी मिसाइएको चकलेट बेलायतबाट भित्रिएको थियो। त्यसैगरी २०७९ भदौ २० गते २१ ग्राम गाँजा र १.५ ग्राम चरेश नेदरल्याण्ड्सबाट नेपाल आइपुगेको थियो। त्यही दिन अमेरिकाबाट ३.७ किलोग्राम गाँजा भित्रिएको थियो।

२०७९ असोजमा अमेरिकाबाट २६ किलो ९ ग्राम, कात्तिकमा २०८ ग्राम गाँजा क्यानडाबाट, फागुनमा ८ किलो ७ ग्राम र चैतमा १ किलो ७०० ग्राम गाँजा अमेरिकाबाट नेपाल आएको थियो।

अघिल्लो वर्ष अमेरिकाबाट साउनमा १ किलो २०० ग्राम, भदौमा ९०० ग्राम, ९३९ ग्राम, १.४ किलो गाँजा भित्रिएको थियो। त्यस्तै मंसिरमा ५२ किलो ३२ ग्राम, ९०० ग्राम अमेरिकाबाट आएको थियो। चैत ४ गते २० किलो गाँजा भित्रिएको हो।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: