Loktantra Khabar National Weekly
Ad

भजाइनल सिस्टको कारण र उपचार

लोकतन्त्र खबर
२८ जेष्ठ २०८१

पाठेघरमा मासु पलाएको सुन्नुभएको होला । तर के तपाईंलाई थाहा छ योनीमा पनि मासु पलाउन सक्छ ?

योनीमा मासु पलाउने समस्यालाई चिकित्सकीय भाषा ‘भजाइनल सिस्ट’ भनिन्छ । जसको बेलैमा पहिचान भयो भने सहजै उपचार हुन्छ । तर ढिलाइ भयो भने अवस्था नाजुक बन्न सक्छ ।

के हो भजाइनल सिस्ट ?

योनी वा यसको वरपर तरल पदार्थले भरिएको गाँठो पलाउनुलाई ‘भजाइनल सिस्ट’ भनिन्छ । यो सानो, ठूलो र कुनै पहिचान गर्ने नसकिने अति सानो आकारको देखा पर्न सक्छ । प्राय: प्रसबको समय, बच्चा जन्माइसकेका र रजोनिवृत्ति भएपछि यो समस्या देखिन सक्छ ।

कारण

यो समस्याको कारण एउटा मात्र छैन । चोटपटक, संक्रमण र हर्मोनल परिवर्तनले हुनसक्छ ।

चोटपटक : प्रसबको समयमा बच्चा निस्किने क्रममा शल्यक्रिया गर्दा वा योनीको भित्तामा चोटपटक लागेर निस्कन सक्छ । यो समस्या आकस्मिक हुनसक्छ, जसको रोकथाम हुन सक्दैन ।

ग्रन्थीमा अवरोध : चोटपटक वा संक्रमणको कारण योनीमा चिप्लोपन गराउने बार्थोलियन ग्रन्थीमा अवरोध आई तरल पदार्थ जम्मा हुँदा मासु पलाउन सक्छ । जसलाई चिकित्सकीय भाषामा बार्थोलियन सिस्ट भनिन्छ । तुलनात्मकरुपमा यो सिस्ट सबैभन्दा बढी देखिन्छ ।

संक्रमण : यौन प्रसारित रोग जस्तै गोनोरिया र क्याल्मडियामा हुने कीटाणुले पनि योनी वा त्यसको वरपर मासु पलाउन सक्छ । त्यसैले यौन सम्बन्ध कायम राख्दा कण्डमको अनिवार्य प्रयोग गर्नुपर्छ ।

जन्मजात : कसैमा भने यो सिस्ट जन्मजात पनि हुनसक्छ । के कारणले देखा पर्छ भन्ने ठोस कारण पत्ता लागिसकेको छैन ।

लक्षण

योनीमा मासु पलाउने बित्तिकै लक्षण देखाउँछ भन्ने हुँदैन । जुन स्वास्थ्य परीक्षण गर्दा बल्ल थाहा हुन्छ । कतिपय अवस्थामा भने केही लक्षण देखापर्छ ।

– योनीको वरपर मासुको डल्ला पलाउनु

– यौन सम्बन्ध राख्दा, हिंड्दा, बस्दा, शौच गर्दा, टिस्यु पेपरले सफा गर्दा र टयाम्पुनको प्रयोग गर्दा दुख्ने र पोल्ने हुनसक्छ ।

– ज्वरो आउन सक्ने ।

पहिचान 

यो पहिचान गर्न सबैभन्दा पहिला आकार हेरिन्छ । आकारअनुसार कस्तो जाँच गरिने भन्ने तय हुन्छ ।

कतिपय अवस्थामा क्यान्सर हो कि भनेर पहिचान गर्न बायोस्पी पनि गरिन्छ ।

त्यस्तै, यौन संक्रमण हो कि भनेर पहिचान गर्न त्यसमा भएको तरल पदार्थको जाँच गरिन्छ ।

जन्मजात ‘सिस्ट’ बढेको छ भने त्यसको आकार कहाँसम्म फैलिएको छ भनेर एमआरआई गरेर हेरिन्छ ।

उपचार

यदि सानो गाँठो छ भने सहन सक्ने तातो पानीले सेक्दा पनि बस्न सक्छ । संक्रमणको कारणले हो भने केही एन्टिबायोटिक औषधि प्रयोगसँगै शल्यक्रिया हुन्छ ।

परीक्षणमा शंकास्पद र आकार ठूलो भएमा सानो शल्यक्रिया गरेर पनि हटाउन सकिन्छ ।

के यसको रोकथाम हुन्छ ?

योनीमा मासु पलाउने समस्याको रोकथाम गर्न सकिंदैन । तर सरसफाइमा ध्यान दिने, सुरक्षित शारीरिक सम्बन्ध राख्दा जोखिम कम भने हुनसक्छ ।

जटिलता

यदि संक्रमणको कारण सिस्ट देखिएको छ ।  समयमा उपचार भएन भने उक्त सिस्टबाट संक्रमण रगतमा फैलिन सक्छ ।

त्यसबाहेक पिसाबको नली, पाठेघर हुँदै पेटसम्म फैलिन सक्छ । त्यसैले योनीमा कुनै शंकास्पद गाँठो, मासुको डल्लो जस्तो छाम्दा अनुभव हुन्छ भने तुरुन्त सम्बन्धित चिकित्सकलाई देखाइहाल्नुपर्छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: