Loktantra Khabar National Weekly
Ad

भारतीय लोकसभा चुनावको मतगणनामा कंगना रनौतको अग्रता, अन्यको स्थिति कस्तो छ ?

लोकतन्त्र खबर
२२ जेष्ठ २०८१

काठमाडौं । भारतमा ५४२ लोकसभा सिटको लागि मतगणना जारी छ । यस पटकको चुनावमा १४ कलाकारको राजनीतिक भविष्य दाउमा छ । यीमध्ये बलिउड अभिनेत्री कंगना रनौत सबैभन्दा बढी चर्चामा छिन् ।

हिमाचलको मण्डी सिटबाट पहिलो पटक चुनाव लडेकी कंगना ५० हजार ४९८ मतले अगाडि छिन् (मध्यान्हसम्म) । एक अन्तर्वार्तामा उनले चुनाव जितेमा फिल्मबाट सन्यास लिने बताएकी थिइन् ।

कंगनाबाहेक टेलिभिजन श्रृंखला ‘रामायण’मा रामको भूमिका निर्वाह गरेर चर्चामा आएका अभिनेता अरुण गोविल मेरठबाट भाजपाको टिकटमा चुनाव लडिरहेका छन् ।

प्रारम्भिक रुझानमा उनी मेरठ सिटबाट अगाडि थिए तर अहिले उनी समाजवादी पार्टीकी उम्मेदवार सुनिता वर्माभन्दा २५६७ मतले पछि परेका छन् (मध्यान्हसम्म) ।

मथुराको सिटबाट हेमा मालिनी ४८ हजार मतले अगाडि छिन् । उत्तरपूर्वी दिल्ली सिटबाट मनोज तिवारी १० हजार १ सय ४१ मतले अगाडि छन् (मध्यान्हसम्म) ।

साउथ स्टार सुरेश गोपी केरलाको त्रिशूर सिटको मतगणनामा पछि थिए । तर, अहिले अग्रता लिइरहेका छन् । गोरखपुर सिटबाट रवि किशन ८ हजार ९० मतले अगाडि छन् । आसनसोल सिटबाट शत्रुघ्न सिन्हा पछाडि परेका थिए तर अहिले उनी अगाडि छन् । यस सिटबाट भाजपाका उम्मेदवार एसएस अहलुवालिया हुन् ।

भोजपुरी स्टार पवन सिंह बिहारको कराकट सिटबाट स्वतन्त्र उम्मेदवार हुन् । भाजपाले उनलाई पश्चिम बंगालको आसनसोलबाट शत्रुघ्न सिन्हाको विरुद्धमा टिकट दिएको थियो, तर उनले टिकट फिर्ता गरे । दिनेश लाल यादव ’निरहुआ’ आजमगढबाट उम्मेदवार हुन् ।

कंगनाले पहिलो पटक चुनाव लडेकी हुन् । उनले ४२ जति फिल्ममा काम गरेकी छन् । कंगनाले सन् २०२० मा प्रोडक्सन हाउस मणिकर्णिका फिल्म्स पनि सुरु गरिन् । उनले पद्मश्री, ४ राष्ट्रिय अवार्ड र ५ फिल्मफेयर अवार्ड पाएकी छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: