Loktantra Khabar National Weekly
Ad

मधेसका २ मन्त्री फिर्ता बोलाउँदै एकीकृत समाजवादी

लोकतन्त्र खबर
२० जेष्ठ २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । जसपाका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो ।

मधेस प्रदेश सरकारबाट एमाले र माओवादी फिर्ता भैसकेका छन् । सो प्रदेशमा नयाँ समीकरणअनुसार एमाले, माओवादी केन्द्र जनमत र एकीकृत समाजवादी मिलेर सरकार बनाउने तयारी छ ।

सोही तयारी अनुसार एकीकृत समाजवादीले यादव नेतृत्वको सरकारमा रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री  गोविन्द बहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीलाई फिर्ता बोलाउने तयारी गरेको एकीकृत समाजवादीका एक पदाधिकारीले बताए ।

‘आज हाम्रो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने र नयाँ सरकार गठन गर्ने तयारी छ’, ति पदाधिकारीले भने, ‘नयाँ सरकार जनमतको नेतृत्वमा बन्छ ।’

यद्यपि सरकारबाट फिर्ता हुनेबारे पार्टी नेतृत्वबाट आइतबार बिहानसम्म कुनै सूचना आइनसकेको मन्त्री न्यौपानेले बताए । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मधेसमा नयाँ सरकार गठन गर्ने केन्द्रीय सहमति भएकाले सहमति पालना गर्नुको विकल्प नभएको बताए । ‘केन्द्रीय सहमति अनुसार मधेसमा नयाँ सरकार बन्छ । नयाँ सरकार बन्ने भएपछि हाल सरकारमा रहेका हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ’, खनालको भनाइ छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: