Loktantra Khabar National Weekly
Ad

नेपालमा पर्यटक बोलाउन होटल व्यवसायी चीन जाँदै

लोकतन्त्र खबर
१८ जेष्ठ २०८१

काठमाडौं जेठ १८, नेपालमा पर्यटक आकर्षित गर्न होटल संघ नेपालले चीनमा प्रवर्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।

चिनियाँ पर्यटक भित्र्याउने र नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ बेइजिङ र छेन्दुमा १९ देखि २५ जेठसम्म नेपाल प्रवर्धनात्मक कार्यक्रम आयोजना गर्न लागिएको हानले जनाएको छ ।

कोभिड-१० महामारीपछि पहिलो पटक हुन लागेको कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष विनायक शाह नेतृत्वमा सातै प्रदेशका ७५ सदस्य होटलहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको टोली शनिबार चीन जाने छ ।

कोभिडपछि चिनियाँ पर्यटकहरूको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि हुँदै आएकोले यस कार्यक्रमबाट चिनियाँ पर्यटक बढाउन प्रत्यक्ष योगदान पुग्ने विश्वास होटल संघ नेपालले गरेको छ ।

बेइजिङ र छेन्दुमा होटल संघ नेपाल र समकक्षी चाइना होटल संघ तथा आर्थिक तथा पर्यटन गतिविधिसँग संलग्न संघ संस्थाबीच तालिम, प्रशिक्षणका साथै दुईपक्षीय पर्यटन प्रवर्द्धन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि रहेको छ ।

कार्यक्रमको समन्वय बेइजिङस्थित नेपाली राजदूतावास तथा छेन्दुस्थित महावाणिज्यदूतको कार्यालय तथा नेपालको पर्यटन सम्बन्धी प्रस्तुतीकरण नेपाल पर्यटन बोर्डबाट हुने होटल संघ नेपालका महासचिव तथा प्रवक्ता साजन शाक्यले बताए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: