Loktantra Khabar National Weekly
Ad

चट्याङ लागेर मजदुर महिलाको मृत्यु

लोकतन्त्र खबर
१८ जेष्ठ २०८१

सिराहा । लहानमा चट्याङ लागेर एक मजदुर महिलाको मृत्यु भएको छ। लहान नगपालिका १८ सोभनपुरका करिव ४० वर्षीय हसिरन खातुनको खुट्टिखोलामा गिट्टी–बालुवा चाल्न गएको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।

खोलामा गिट्टी–बालुवा चालेर जीविकोपार्जन गर्दै आएका उनका श्रीमान् मोहम्मद समरुदसँगै बिहीबार पनि खोलामै काम गरिरहेका बेला चट्याङ्ग लागेर उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष मोहम्मद शमशेरले जानकारी दिए।

उनका अनुसार छोरीसहित खोलामा गिट्टी–बालुवा चालिरहेकै बेला पानी परेपछि श्रीमान् र छोरी  चाल्नो पुर्याउन अलि पर पुगेका बेला चट्याङ परेर ढलेकी उनको तत्काल मृत्यु भएको थियो । वडा अध्यक्षकाअनुसार शरीरमा ठुलो चोट नदेखिए पनि लगाएको सुरुवालको तल्लो भाग जलेको देखिएको छ।

खातुनका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन्। उनीहरुको खोलामै गिट्टी–बालुवा चालेर जीविका चल्दै आएको थियो।

खोलामै काम गरिरहेका अन्य भने सुरक्षित रहेको अध्यक्ष शमशेरले जानकारी दिए।  खातुनको शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको छ। रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: