Loktantra Khabar National Weekly
Ad

१० महिनामा ४१४ जना बालबालिका बेपत्ता, हराउनेमा ९० प्रतिशत बालिका

लोकतन्त्र खबर
१७ जेष्ठ २०८१

वीरगन्ज । यही जेठ ९ गते पर्साबाट एक १४ वर्षीया बालिका हराइन् । जगरनाथपुर गाउँपालिकाको वडा नम्बर ६ बाट पूजा कुमारी हराएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । घरबाट निस्केकी पूजा भने अहिलेसम्म हराएकी सूचीमा रहेको पर्सा प्रहरी बताउँछ ।

५ फिट उचाइ भएकी पूजा एकाएक हराउनुको कारण न घरपरिवारलाई थाहा छ नत प्रहरीलाई नै । उनी हराएकी आज ६ दिन भइसकेको छ । कसैको सम्पर्कमा नआएपछि उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

त्यस्तै, गत माघ १० गते धनुषा जिल्लाबाट ७ वर्षीय बालक बेपत्ता भए । क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ घर भएका (हाल जनकपुर–४) ७ वर्षीय बालक घरबाट निस्केर कहाँ गए, त्यसको अत्तोपत्तो छैन ।

उनी अहिलेसम्म प्रहरी वा घरपरिवारको सम्पर्कमा आएका छैनन् । उनको नाम मधेस प्रहरीको खोजीकै रेकर्डमा दर्ज छ ।

यसै गरी, माघ महिनाकै २५ गते सर्लाहीबाट एक जना बेपत्ता भए । बागमती नगरपालिका–७ निवासी कृष्णा ठाकुर अचानक बेपत्ता भएको प्रहरीमा सूचना आयो । तर चार महिना बितिसक्दा पनि उनी अहिलेसम्म परिवारको सम्पर्क आउन सकेका छैनन् । अर्थात् उनी अझै बेपत्ताकै सूचीमा छन् ।

मधेस प्रदेशमा चालू आर्थिक वर्षको १० महिनामा मात्रै १ हजार ८४ जना बालबालिका हराएको उजुरी प्रहरी कहाँ दर्ता भएका छन् । यो साउनदेखि वैशाखसम्ममा बेपत्ता भएका बालबालिकाहरूको विवरण हो ।

यसमध्ये ४ सय भन्दा बढी बालबालिका अझ बेपत्ताकै सूचीमा छन् । अर्थात् हराएकाहरूमध्ये आधा जति बेपत्ता बालबालिकाहरू अझै परिवारका सम्पर्कमा नआएको प्रहरीको रेकर्ड छ । बेपत्ता भएका ती बालबालिकाहरूको खोजी जारी रहेको प्रहरी बताउँछ ।

मधेस प्रदेशमा बालबालिका हराएको उजुरीको सङ्ख्या

जिल्लाबाट कति हराए ?

पर्सादेखि धनुषासम्म गरी ८ वटै प्रदेशबाट बालबालिकाहरू बेपत्ता भइरहेका छन् । तथ्याङ्क हेर्ने हो भने चालू आर्थिक वर्षको १० महिनामा पर्साबाट १६३, बाराबाट १४०, रौतहटबाट ९९, सर्लाहीबाट १६३ जना बालबालिका बेपत्ता भएको प्रहरी तथ्याङ्क छ ।

यसै गरी महोत्तरीबाट ९२, धनुषाबाट १७०, सिराहाबाट १६८ र सप्तरीबाट ८९ जना बालबालिकाहरू हराएको मधेस प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहरा बताउँछन् । उनका अनुसार हराउनेहरूमा बालिकाको सङ्ख्या धेरै देखिएको छ, जुन गम्भीर चिन्ताको विषय हो । बालिकाहरू बढी हराउनु राम्रो सङ्केत नभएको उनी बताउँछन् ।

हराउनेमा ९० प्रतिशत बालिका 

प्रदेशभरिबाट हराउने कूल बालबालिकाहरूमध्ये ९० प्रतिशत बालिका रहेको प्रहरीको तथ्याङ्क छ । यो १० महिनाको अवधिमा प्रदेशबाट हराएका बालबालिकाहरूमध्ये ९१२ जना बालिका छन् ।

बालिका बेपत्ता हुने विवरण जिल्ला गत रूपमा हेर्ने हो भने पर्साबाट १३३, बाराबाट १२०, रौतहटबाट ८५, सर्लाहीबाट १४०, महोत्तरीबाट ८२, धनुषाबाट १४५, सिराहाबाट १४२ र सप्तरीबाट ६५ बालिका हराएको उजुरी दर्ता भएको प्रहरीको तथ्याङ्क छ ।

यद्यपि, दश महिनामा हराएका कूल बालबालिकामध्ये प्रहरीले ६ सयभन्दा बढीको उद्धार पनि गरेको छ । आठवटै जिल्लाबाट हराउने बालबालिकाहरूमध्ये ६ सय ७० जना बालबालिकाको उद्धार भएको मधेस प्रदेश प्रहरीको तथ्याङ्क छ । यसलाई आधार मानेर हेर्ने हो भने प्रदेशबाट ४१४ जना बालिबालिका अझ बेपत्ता छन् ।

के भन्छ प्रहरी ?

प्रदेश प्रहरी प्रवक्ता बोहराले बालबालिकाहरू बेपत्ता हुँदा आफन्तले प्रहरीमा उजुरी दिने तर उनीहरू फेला पर्दा प्रहरीलाई जानकारी नदिँदा पनि हराउनेहरूको सङ्ख्या बढी देखिएको तर्क गर्छन् । उनी भन्छन्, ‘हामी कहाँ सुरुमा हराएको सूचना आउँछ, त्यो प्रहरी रेकर्डमा लेखिन्छ । पछि ती बालबालिकाहरू फेला प¥यो भने उनका अभिभावकहरू भने फेला परेको बारे जानकारी गराउँदैनन्, जसका कारण बेपत्ता भएर फेला परेकाहरूको पनि नाम त्यही सूचिमा रहिरन्छ । तर उनीहरू बेपत्ता भएका चाहिँ हुँदैनन् ।’

त्यस्तै, कामको खोजी, बिहे गरी भाग्ने र सीमा पार जाने हुँदा बालबालिकाहरू हराइरहेको मधेस प्रहरीको विश्लेषण छ । रातोपाटी

 

 

प्रतिक्रिया दिनुहोस्: