Loktantra Khabar National Weekly
Ad

कांग्रेसद्वारा कोशी प्रदेशसभा बैठक बहिष्कार

लोकतन्त्र खबर
१३ जेष्ठ २०८१

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठक पनि नेपाली कांग्रेसले बहिष्कार गरेको छ । कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै बैठकमा अनुपस्थित रहने जनाएका हुन् ।

‘प्रस्तुत विषयमा मिति २०८१ वैशाख २७ गते गठित कोशी प्रदेश सरकार गठनका क्रममा वैधानिक प्रक्रिया नपुगेको प्रश्न अहिलेसम्म निरूपण हुन सकेको छैन । कोशी प्रदेशमा सरकार गठनबारेको विवाद सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको तथ्य सभामुख महोदयलाई पुनः स्मरण गराउँदछौँ’ तामाङले पत्रमा भनेका छन्, ‘सरकार गठनबारेको विषयमा निचोडमा पुग्नकै निम्ति सर्वोच्च अदालतले यही जेठ १६ गतेलाई मुद्दाको पेशी तोकेको विषय पनि हामी सबैको जानकारीमा नै छ। नेपाली काङ्ग्रेस कोशी संसदीय दल अदालतमा विचाराधीन यो मुद्दाको टुङ्गो नलागेसम्म प्रदेशसभा बैठक सञ्चालन गर्न नहुने पक्षमा उभिएको छ ।’

यो विषयमा प्रदेशसभाका सबै सरोकारवालाहरूमा जानकारी गराइसकेको समेत उनले बताएका छन् । उनले भनेका छन्- ‘यसबारे हामीले प्रदेशसभाका सबै सरोकारवालाहरूमा जानकारी गराइसकेका छौँ यद्यपि जेठ १३ का लागि सभामुखज्यूबाट प्रदेशसभाको बैठक बोलाइएको विषय जानकारीमा आएको छ। सरकारबारेको विवाद अदालतबाट टुङ्गो नलागेसम्म बैठक सञ्चालन नगर्नु भन्ने हाम्रो मागलाई सभामुखज्यूबाट सम्बोधन हुने अपेक्षा गरेका छौँ।’

उनले विज्ञप्तिमा भनेका छन्– ‘प्रदेशसभाका सबै संसदीय गतिविधिहरू सहमतिपूर्वक अगाडि बढाउनुपर्ने आवश्यकता बोध गर्दै मिति २०८१ जेठ १३ का लागि बोलाइएको प्रदेशसभा बैठक स्थगन गरी मिति सार्न नेपाली कांग्रेस संसदीय दल सभामुखसमक्ष पुनः अनुरोध गर्दछ। हाम्रो आग्रह र अनुरोध विपरीत प्रदेशसभा बैठक सञ्चालन भए नेपाली कांग्रेस बैठकमा उपस्थित हुन नसक्ने जानकारी दोहोर्‍याउँदै त्यस्तो दुःखद अवस्था आउन नदिन प्रदेशसभा अग्रसर हुनेछ भन्ने विश्वास प्रकट गर्दछौँ ।’ रातोपाटी संवाददाता

 

 

प्रतिक्रिया दिनुहोस्: