Loktantra Khabar National Weekly
Ad

कार्तिक आर्यन स्टारर ‘चन्दु च्याम्पियन’ ट्रेलर : ओलम्पिक खेल्न युद्ध लडेका चन्दुको कथा

लोकतन्त्र खबर
६ जेष्ठ २०८१

काठमाडौं । कार्तिक आर्यन स्टारर प्रतीक्षित भारतीय फिल्म ‘चन्दु च्याम्पियन’को ट्रेलर सार्वजनिक भएको छ । कार्तिकको गृहनगर ग्वालियरमा आयोजित समारोहमा ट्रेलर लन्च गरियो ।

फिल्ममा कार्तिकको लुक्स रोचक छ । साजिद नाडियाडवाला र कबीर खानले मिलेर निर्माण गरेको फिल्मलाई वर्षकै प्रतीक्षितमध्येको भारतीय फिल्म बताइएको छ ।

कबीर खानले फिल्मलाई निर्देशन गरेका हुन् । ‘चन्दु च्याम्पियन’ १४ जुन २०२४ मा हलमा रिलिज हुँदैछ । ट्रेलरमा संवेदना, एक्सन र युद्धको दृश्य देख्न पाइन्छ । ३ मिनेट १५ सेकेन्डको ट्रेलरमा कार्तिकको मेहनत प्रष्ट देखिन्छ ।

फिल्मका लागि कार्तिकले दुई पटक शरीरको आकार परिवर्तन गरे । ट्रेलरमा सन् १९६५ मा भएको युद्धको झलक देखाइएको छ । कार्तिकका बुबा उनलाई खेलकुदमा जान दिन चाहँदैनथे । बाल्यकालदेखि खेलकुदमा उनको रुचि थियो ।

उनले करिअर कुस्तीबाट सुरु गरे । ट्रेलरमा कार्तिकको संवाद छ- ‘म चन्दु होइन, म च्याम्पियन हुँ ।’ ओलम्पिक खेल्न सुरुमा उनी सेनामा भर्ती हुनुपरेको थियो । त्यससँगै उनले बक्सिङमा अगाडि बढ्ने मौका पाए । तर त्यहाँ पनि उनको जीवन सुखमय हुन सकेन ।

सैनिक सिपाही मुरलीकान्त पेटकरको भूमिकामा कार्तिक पूर्णरूपमा फिट देखिन्छन् । ट्रेलरको सुरुमै उनलाई युद्धमा नौ पटक गोली लागेकाले दुई वर्षदेखि कोमामा रहेको बताइएको छ । यसपछि चन्दुको जीवनमा भएका अघिल्ला सबै दुर्घटना देखाइन्छ ।

यो फिल्मको कथा मुरलीकान्त पेटकरको जीवनमा आधारित छ । मुरलीकान्त पेटकर स्वर्ण पदक विजेता हुन्, जसले सन् १९७० को राष्ट्रमण्डल खेल र सन् १९७२ मा जर्मनीमा आयोजित पारालम्पिकमा देशको गौरव बढाएका थिए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: