Loktantra Khabar National Weekly
Ad

दुर्गममा शिक्षक पाउनै मुस्किल : पाँचौँ पटकसम्म विज्ञापन प्रकाशन

लोकतन्त्र खबर
२८ बैशाख २०८१

काठमाडौँ । प्युठानको अर्खा माध्यमिक विद्यालयले विज्ञान विषयको माध्यमिक तहको शिक्षकका लागि पाँचौँ पटक विज्ञापन प्रकाशन गरेको छ । प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर १ मा रहेको सो माविका लागि विज्ञान शिक्षक आवश्यक परेकोले पहिलो विज्ञापन गत फागुन २६ गते प्रकाशन गरिएको थियो ।

पहिलो पटक १५ दिन र त्यसपछि ७–७ दिनको समय रोखेर विज्ञापन गरिए पनि शिक्षक नपाएको प्रधानाध्यापक लिलुप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।

यसअघि अध्यापन अनुमति पत्र भएका शिक्षक मागे पनि पाँचौँ पटक विज्ञापन गर्दा सो प्रावधान हटाउँदा बल्ल २ जनाको आवेदन परेको बताए ।

प्रधानाध्यापक पौडेलले भने– ‘अहिले दुइटा दर्खास्त प्राप्त भएको छ । छनौट परीक्षासम्म उहाँहरू बस्नुहुन्छ कि बस्नुहुन्न थाहा छैन । आइतबार र सोमबार उहाँहरूको परीक्षण गर्ने तयारी गरेका छौँ । चौथो पटक गरेको विज्ञापनमा २ जनाले दर्खास्त दिनुभएको थियो तर शिक्षक छनौटका लागि बोलाउँदा अरू नै स्कुलमा गइसक्नुभएछ । २ जना नै आउनुभएन । यहाँको स्थानीय शैक्षिक जनशक्ति कम भयो, बाहिरबाट आउने टिक्न सकेनन् ।’

दुर्गम भन्ने, अतिरिक्त काम गर्न नपाइने, ट्युसनको आस गर्ने, बस्ने ठाउँ, सेवा सुविधा खोज्ने प्रवृत्तिका कारण शिक्षक नपाएको हो कि भन्ने अनुमान रहेको पौडेलले बताए ।

विद्यार्थी संख्या धेरै तर सरकारले शिक्षक दरबन्दी नदिएका कारण समस्या रहेको उनले बताए । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: