मनोज यादव—
सर्लाही,बैशाख १८
लामो समयदेखि पानी नपर्दा सर्लाहीका पोखरी तथा तलाउहरु सुक्न थालेका छन् ।
अत्याधिक गर्मीले गर्दा पोखरी र तलाउमा पानीको सतह घट्ने क्रममा रहेको अवस्थामा माछाहरु घमाधम मर्न थालेपछि माछा पालक कृषकहरु चिन्तित भएका छन् ।
जिल्लाका नदीहरुमा समेत पानी सुकिसकेको छ। माछा मारेर जिविकोपार्जन गर्दै आएका माझी समुदाय माछा मार्न नपाए पछि बैकल्पिक रोजगारको खोजीमा लाग्न थालेका छन् ।
सर्लाही जिल्लामै सबैभन्दा बढी माछा उत्पादन हुने चन्द्रनगर गाउँपालिकामा करिब ३ हजार हेक्टर पोखरीमा माछा पालन हुने गरेको छ।
उक्त गाउँपालिकामै मात्र प्रतिदिन ६० क्विन्टल भन्दा बढी माछाहरु उत्पादन हुने गरेको छ।
सिजनमा प्रतिदिन २० लाख रुपैयाँसम्मको माछा निर्यात हुुने चन्द्रनगरका माछा पालक कृषकहरु पोखरी सुकेर माछाहरु मर्न थालेपछि उत्पादन ह्वात्तै घटेको बताएका छन्।
बढी आम्दानीका लागि धान,गहुँ लगायतका बाली फलाउने जग्गामा पोखरी खनेर माछा पालन गरे पनि पोखरी सुक्न थालेपछि व्यवसायी कृषकहरु निराश भएको स्थानीय माछापालक किसान दुलार मुखियाले बताए ।
तीन महिनाअघि पोखरीमा हालेको माछा ३ सयदेखि ८ सय ग्रामसम्म पुग्न लाग्दा सबै माछा मरेको कृषक मुखियाले बताए।
उनले माछाहरु टाउको,पखेटा र पुच्छरमा रातो भएर छटपटाउने, सुस्त हुने र मर्ने गरेको बताए ।
बिक्रीका लागि तयारी अवस्थामा पुगेका माछाहरु मरेपछि आफुहरुलाई ठुलो आर्थिक समस्या परेको स्थानीय कृषकहरुले गुनासो गरेका छन् ।

