Loktantra Khabar National Weekly
Ad

बलिउडमा यतिबेला किन चल्दैछ लिभिङ टुगेदरको बहस ?

लोकतन्त्र खबर
९ बैशाख २०८१

काठमाडौं । भारतीय अभिनेत्री जिनत अमानले केही दिनअघि इन्स्टाग्राममा पोस्ट गरेको विचारले यतिबेला बलिउडमा तरंग ल्याएको छ । उक्त पोस्टमा अमानले युवापुस्तालाई विवाहअघि लिभ इन टुगेदर (लिभिङ टुगेदर)मा बस्न सल्लाह दिएकी छन् ।

एकअर्कालाई बुझ्न पनि लिभिङ टुगेदरमा बस्नुपर्ने उनको भनाइ छ । उनले भनेकी छन्, ‘यदि तपार्इं सम्बन्धमा हुनुहुन्छ भने विवाहअघि लिभिङ टुगेदरमा बस्न एकदमै सल्लाह दिन्छु ।’

‘मेरो छोरालाई पनि म यो सल्लाह दिइरहन्छु, जो दुवैजना लिभिङ टुगेदरमा थिए र छन् । पारिवारिक सम्बन्धमा जोडिनुअघि उनीहरुले सम्बन्धबारे परीक्षण गर्न पाउनुपर्छ,’ उनले भनेकी छन् ।

‘दिनको केही घण्टा आफ्नो उत्कृष्ट भर्सन बन्न सजिलो छ । तर के बाथरुम सेयर गर्न सक्नुहुन्छ ? सुत्ने कोठामा आगो बाल्न सक्नुहुन्छ ? मुख्य कुरा के तपार्इं वास्तवमै मिल्दोजुल्दो हुनुहुन्छ ?’ उनी लेख्छिन् ।

उनले अहिले पनि भारतीय समाजमा लिभिङ टुगेदरलाई लिएर संकोच रहेको बताएकी छन् । उनले उक्त पोस्टमा समाजको अपेक्षाभन्दा अघि व्यक्तिगत अनुकूलतालाई प्राथमितामा राख्न सल्लाह दिएकी छन् ।

प्रतिक्रियामा कसले के भने ?

जिनत अमानसँग ‘हरे राम हरे कृष्ण’मा अभिनय गरिसकेकी अभिनेत्री सैरा बानुले यो पोस्टमा असन्तुष्टि व्यक्त गर्दै टिप्पणी गरेकी छन् । उनले जिनत अमानको दाम्पत्य जीवन ‘जीवित नर्क’जस्तो आरोप लगाउँदै सम्बन्धबारे सल्लाह दिन नसुहाउने तर्क गरेकी छन् ।

उनले अमानको भनाइप्रति आफू कहिल्यै पनि सहमत हुन नसक्ने उल्लेख गरेकी छन् । ‘पक्कै पनि हामी परम्परागत सोचका मानिस हौं । म यो अभिव्यक्तिमा सहमत हुन सक्दिनँ,’ हिन्दुस्तान टाइम्ससँग उनले भनेकी छन् ।

अभिनेत्री मुमताजले जुमसँग कुरा गर्दै आफूले भनेको कुराप्रति सचेत रहन जिनत अमानलाई आग्रह गरेकी छन् ।

‘उनी अचानक सामाजिक सञ्जालमा लोकप्रिय भएकी छन् । म एक कुल आन्टीजस्तै उनको आवाजको बारेमा त्यो उत्साह बुझ्न सक्छु । हाम्रो नैतिक मूल्य-मान्यताको विपरीत हुने सल्लाह दिनु भनेको समाधान होइन,’ मुमताजले भनेकी छन् ।

जिनत अमानको यो भनाइ भाइरल भइरहँदा, ‘महाभारत’ र ‘शक्तिमान’जस्ता फिल्म र सिरिजमा अभिनय गरेका मुकेश खन्नाले यो भनाइको विरोध गरेका छन् ।

दैनिक जागरणसँगको कुराकानीमा खन्नाले भनेका छन्, ‘अमानले लिभिङ टुगेदरबारे केटाकेटीले एकअर्कालाई बुझ्ने मौका पाउने बताएकी छन् । यो एकअर्कालाई चिन्ने र बुझ्ने कुरा होइन । भारतीय संस्कृतिमा यो कुरा स्वीकार्य छैन । उनले सोच विचार गरेर यो कुरा बोल्न जरुरी छ ।’ अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: