Loktantra Khabar National Weekly
Ad

‘पुष्पा २’ को राइट उत्तरी भारतमा २०० करोड भारुमा बिक्री, नेपालमा के होला ?

लोकतन्त्र खबर
६ बैशाख २०८१

काठमाडौं । सन् २०२१ मा दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनले सुकुमार निर्देशित ‘पुष्पा’बाट भारतको हिन्दीभाषी राज्यमा जबर्जस्त डेब्यु गरे । यो फिल्मले विश्व बक्स अफिसमै तहल्का मच्चायो ।

शैली, नृत्य र संगीतदेखि लिएर संवाद र पात्रसम्म यो फिल्मका हरेक पक्ष युवापुस्ताले अनुशरण गर्‍यो । त्यसयता फिल्मको दोस्रो श्रृंखला ‘पुष्पा २ : द रुल’को निकै चर्चा र पर्खाइ छ ।

निर्माताले केही दिनअघि फिल्मको फस्टलुक टिजर सार्वजनिक गर्दै फिल्मलाई अगस्ट १५ (साउन ३१ गते) प्रदर्शन हुने जानकारी दिए ।

यसैबीच, यो फिल्मको उत्तरी भारतमा अहिलेसम्मकै कीर्तिमानी मूल्यमा वितरण अधिकार बिक्री भएको खबर पिंकभिल्लाले छापेको छ । वितरक अनिल थडानीले २०० करोड भारु मूल्यमा उक्त क्षेत्रका लागि फिल्मको राइट किनेको जनाइएको छ ।

यतिबेलाको चासोलाई हेर्दा ‘पुष्पा २’ सन् २०२४ को बहुप्रतीक्षित भारतीय फिल्म हो । यो वितरण मूल्य भारतीय फिल्मको इतिहासमा अहिलेसम्मकै उच्च रहेको जनाइएको छ ।

स्रोतका अनुसार अल्लु अर्जुनको फ्यान फलोइङ र उत्तरी भारतमा ‘पुष्पा’को बलियो ब्रान्ड मूल्यका कारण ‘पुष्पा २’ को कीर्तिमानी वितरण सम्झौता भएको हो ।

फिल्मको प्रदर्शन मिति नजिकिंदै गर्दा निर्माताले देशी तथा विदेशी हल र नन–थिएटरका लागि डिष्ट्रिब्युसन राइट बिक्री गर्न थालेका छन् ।

नेपालमा टुंगो लागिसकेको छैन

‘पुष्पा २’ को नेपाल राइट खरिद गर्नका लागि नयाँ र पुराना वितरकको सक्रियता बढेको छ । फिल्मको राइट बिक्री भएको र यति मूल्यमा निश्चित भएको भन्ने हल्ला चलेपनि यसबारे टुंगो लागिसकेको छैन ।

ब्राण्ड भ्यालु, हाइप र फिल्मले नेपालमा यसअघि गरेको कमाइलाई हेर्दा राइट महँगो मूल्यमै बिक्री हुने सम्भावना छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: