काठमाडौँ — सन् १९९८ मा आजकै दिन (मार्च २३) मा हलिउड फिल्म ‘टाइटानिक’ ले विभिन्न ११ विधामा अक्कर अवार्ड जितेको थियो । फिल्म अस्कर अवार्डका १४ विधामा मनोनयनमा परेको थियो ।
‘टाइटानिक’ ले उत्कृष्ट फिल्म, निर्देशक, कला निर्देशक, छायांकन, भेषभूषा, दृश्य संयोजन, सम्पादन, ओरिजिनल स्कोर, ओरिजिनल गीत, ध्वनि र ध्वनि सम्पादान गरी ११ विधामा अवार्ड जितेको हो । त्योसँगै ‘टाइटानिक’ ले सबैभन्दा धेरै विधामा अस्कर अवार्ड जित्ने रेकर्ड ‘बेन–हुर’ फिल्मसँग बराबरी गरेको थियो । त्यसअघि १९५९ मा ‘बेर–हुर’ ले ११ विधामा अवार्ड हात पारेको थियो । त्यस्तै, ‘द लर्ड अफ द रिङस् : द रिटर्न अफ द किङ (२००३) ले पनि ११ विधामा अक्सर अवार्ड जितेको छ ।
जेम्स क्यामरुन निर्देशित फिल्म १९९७ को डिसेम्बर १९ मा रिलिज भएको थियो । फिल्ममा लियोनार्दो डिकाप्रिओ र केट विन्सलेटको मुख्य भूमिका रहेको छ । ‘टाइटानिक’ एक अर्ब अमेरिकी डलरको व्यापार गर्ने पहिलो फिल्मसमेत हो ।
२० करोड अमेरिकी डलरको ‘टाइटानिक’ ले हालसम्म २ अर्ब १९ करोड अमेरिकी डलर कलेक्सन गरिसकेको छ । हलिउडमा हालसम्म टाइटानिकबाहेक पाँच फिल्मले मात्र २ अर्ब अमेरिकी डलरभन्दा बढीको व्यापार गर्न सफल भएका छन् । तीमध्ये ‘अवतार (२००९)’ शीर्ष स्थानमा छ । क्यामरुनकै निर्देशनमा बनेको फिल्मले २ अर्ब ९२ करोड ३७ लाख अमेरिकी डलरको व्यापार गरेको थियो । कान्तिपुर

