
नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा कलेजोको सफल प्रत्यारोपण गरिएसँगै नेपालको मेडिकल क्षेत्रले फड्को मारेको छ । यसअघि २०७३ मंसिर २२ मा नेपालमा पहिलो पटक भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरिएको थियो । दक्षिण कोरियाको सोलस्थित सामसङ मेडिकल सेन्टरबाट प्रत्यारोपण शल्यचिकित्सकसहित ७ सदस्यीय विज्ञ टोली नेपाल ल्याएर प्रत्यारोपण केन्द्रले नेपालको मेडिकल क्षेत्रमा एउटा कोसेढुंगा खडा गरेको थियो ।
त्यस्तै त्रिवि शिक्षण अस्पतालले पनि २०७६ जेठ १७ मा कलेजो प्रत्यारोपण गरेको थियो । त्यो बेला पनि भारतको अपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञसहितको टोली आएको थियो । चितवनस्थित सीएमसी अस्पताल तथा ललितपुरस्थित किस्ट अस्पतालमा पनि कलेजो प्रत्यारोपण गरिएको छ तर विदेशी विशेषज्ञको सहयोगमा । नेपालमा कलेजो प्रत्यारोपण सुरु हुन जति–जति उपलब्धिको विषय थियो, अब नेपाली विज्ञ र स्वास्थ्यकर्मीबाट यो प्रक्रिया पूरा हुन थालेपछि यसले सन्तोषको अर्को सन्देश दिएको छ ।
विदेशबाट विशेषज्ञ बोलाउनुपर्ने र उनीहरूको समय मिलाउनुपर्ने परिस्थितिका कारण नेपालमा कलेजो प्रत्यारोपण दर कम छ । तर, नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा कलेजोको सफल प्रत्यारोपण गरिएपछि अब विदेशी विज्ञलाई पर्खनुपर्ने समय र आर्थिक भारबाट पनि नेपाली बिरामीले राहत पाएका छन् । शिक्षण अस्पतालमा भएको सफल प्रत्यारोपणले नेपाली चिकित्सकहरूमा आत्मविश्वास बढाएको छ । यसले थप विज्ञ जनशक्ति यहीँ उत्पादन हुने र प्रत्यारोपण दर बढ्ने सम्भावना पनि देखाएको छ ।
नेपाली सीप, क्षमता र विज्ञतालाई आत्मविश्वासी बनाउने यस्ता पहलको नेतृत्व गर्ने चिकित्सकको पहल सधैं अर्थपूर्ण छ । सात वर्षअघि प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको पहलमा नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो भने यसपालि त्रिवि शिक्षण अस्पतालका प्रत्यारोपण विशेषज्ञ प्राडा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले स्वदेशी विज्ञहरूबाट यो काम सफल बनाएको छ । गत पुस २७ मा ११ घण्टा लगाएर गरिएको यो प्रत्यारोपणमा जीवित दाताबाटै कलेजो प्रत्यारोपण गरिएको हो । दाता र प्रापक दुवैको शल्यक्रिया ११ घण्टामा सक्नुलाई विज्ञहरूले पनि ठूलो सफलता भनेका छन् । ४० वर्षीया श्रीमतीले दिएको कलेजो प्रत्यारोपण गरेका ४१ वर्षीय पुरुष बिहीबार डिस्चार्ज पनि भएका छन् । यो पनि सन्तोषको सबैभन्दा महत्त्वपूर्ण विषय हो ।
कलेजो पाचन प्रणालीको सबैभन्दा महत्त्वपूर्ण अंग हो । नेपालमा मदिरा सेवनका कारण कलेजो खराब हुने समस्या ठूलो छ । हेपटाइटिस बी र हेपटाइटिस सीका कारण पनि कलेजो खराब हुन्छ । कम खराबीमा औषधि–उपचारले काम गरे पनि सामान्यतया ७० प्रतिशतभन्दा बढी खराबी भए प्रत्यारोपणको विकल्प छैन । जीवित दाताबाट केही भाग र ब्रेनडेथ (मस्तिष्क मृत्यु) भएको व्यक्तिबाट पूरै कलेजो निकालेर बिरामीमा प्रत्यारोपण गरिन्छ । तर, कलेजो प्रत्यारोपणलाई विश्वमै कठिन मानिन्छ । कलेजोमा धेरै प्रकारका स–साना नसा हुने भएकाले अत्यधिक रक्तस्रावको जोखिम रहन्छ । प्रत्यारोपणपछि संक्रमणको जोखिम पनि हुन्छ । तर, नेपाली विज्ञ र स्वास्थ्यकर्मीले गरेको प्रत्यारोपण सफल भएकाले अन्य जटिल शल्यक्रियातर्फ पनि नेपाली मेडिकल क्षेत्रले अभ्यास गर्ने आत्मविश्वास बढेको छ ।
ब्रेनडेथ भएका व्यक्तिबाट कलेजो प्रत्यारोपण पनि नेपालमा सुरु भइसकेको छ । ब्रेन डेथ व्यक्तिबाट प्रत्यारोपण गर्ने क्रम बढाउन सकियो भने खेर जाने अंग सदुपयोग हुन सक्छ । यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था र सरकार मात्र होइन, समाज र परिवारमा पनि ठूलै चेतनाको आवश्यकता छ । ब्रेन डेथ भएका व्यक्तिबाट अंग प्राप्तिका लागि मात्र होइन, प्रत्यारोपणका लागि बिरामीको प्राथमिकतामा पनि पारदर्शी प्रक्रिया अपनाउने गरी स्वतन्त्र संयन्त्र बेलैमा खडा गर्नुपर्छ । जीवित दाताका सन्दर्भमा भने कोबाट कस्तो अवस्थामा अंग लिन सकिने भन्ने कानुनी व्यवस्था स्पष्ट छ ।
नेपालमै कलेजो प्रत्यारोपण गर्दा अहिले २५ देखि ३० लाख रुपैयाँसम्म खर्च हुन्छ, भारत जानुपर्यो भने कम्तीमा एक करोड खर्च हुन्छ । आम नेपालीको आर्थिक अवस्थाका हिसाबले यो शुल्क निकै महँगो हो । सरकारले मिर्गौला प्रत्यारोपणका लागि अनुदान दिँदै आएको छ तर कलेजो प्रत्यारोपणका हकमा यस्तो सुविधा छैन । महँगो पर्ने कलेजो प्रत्यारोपणमा सरकारले अनुदान उपलब्ध गराउन सके बिरामीलाई राहत हुन्छ ।
त्यस्तै, नेपालमा यकिन तथ्यांक नभए पनि जनसंख्याको अनुपात र उपचारका लागि आउने बिरामीको संख्याका आधारमा वर्षमा तीन सय जनासम्मलाई प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । मुलुकभित्रै विशेषज्ञ जनशक्ति उत्पादन हुँदै गयो र प्रत्यारोपण दर पनि बढ्यो भने खर्च घट्न सक्छ । यस्तै, कलेजो प्रत्यारोपणका लागि रकम विदेशिने क्रममा कमी आउँछ । त्यसैले विशेषज्ञ जनशक्ति उत्पादन र प्रत्यारोपण दर वृद्धिमा सरकारले निरन्तर प्रोत्साहन गर्न जरुरी छ । कान्तिपुर