चक्रपथ विस्तार भइसकेपछि काठमाडौंको ट्राफिक व्यवस्थापनमा केही हदमा भए पनि सहजता आउनेछ । त्यसैले यस आयोजनामा अलमल गर्नु हुँदैन ।
संघीय राजधानीमा चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलंकी) विस्तार पूरा भएको पाँच वर्ष बितिसक्दा पनि दोस्रो खण्ड (कलंकी–बसुन्धरा) मा काम सुरु भएको छैन । तेस्रो खण्ड (बसुन्धरा–चाबहिल) मा कहिले काम हुने टुंगो छैन । कलंकी–बसुन्धरा खण्ड विस्तारका लागि नेपाल र चीन सरकारबीच (जीटुजी) सम्झौता सन् २०१८ मै भएको हो ।
तर अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै तयार हुन सकेको छैन । तत्काल डीपीआर तयार भइहाले पनि निर्माणको सम्झौता र त्यसपछि ठेक्का प्रक्रिया अघि बढाउनुपर्ने भएकाले काम सुरु हुन अझै केही समय कुर्नुपर्ने हुन्छ ।
कलंकी–बसुन्धरा खण्ड विस्तारका लागि सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु हुन नसक्नुमा नेपाल सरकार र चीन सरकार दुवैको कमजोरी देखिन्छ । आठ लेन हुने सडकले ओगट्ने क्षेत्र खाली गराउन (साइट क्लियरेन्स) नै नेपाल सरकारलाई करिब चार वर्ष लागेको थियो । साइट क्लियरेन्समा यस्तो सुस्ती नेपाल सरकारको सधैंको समस्या हो । कलंकी–बसुन्धरामा साइट क्लियरेन्स छिटो सक्न चीनले पटक–पटक ताकेता गरेको थियो । साइट क्लियरेन्स भइसकेपछि भने डीपीआरले अल्झाएको छ ।
डीपीआरको जिम्मा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोलीलाई गत वर्ष फागुनमा दिइएको थियो । त्यति बेला छिटोमा दुई महिना र ढिलोमा छ महिनामा डीपीआर तयार गर्ने भनिएको थियो । तर अहिलेसम्म पनि डीपीआर कहिले तयार हुन्छ भन्नेसमेत यहाँका सरोकार निकायलाई थाहा छैन ।
२७ किलोमिटर लामो चक्रपथ विस्तार ११ वर्षअघि सुरु भएको हो । पहिलो चरणमा ४० महिनाभित्र काम सक्ने लक्ष्यका साथ कोटेश्वर–कलंकी खण्डमा काम थालिएको थियो । तर १०.३९ किलोमिटरको उक्त सडक विस्तार सक्न छ वर्ष लाग्यो । चिनियाँ अनुदानमा साढे दुई दशकअघि निर्माण भएको चक्रपथ विस्तारमा पनि चीनकै सहयोग छ । कोटेश्वर–कलंकी सडक विस्तार सवा पाँच अर्ब रुपैयाँ चिनियाँ सहयोगमा पूरा भएको थियो । नाली, सर्भिस लेन निर्माण भने नेपाल सरकारले गर्ने जिम्मा छ । दोस्रो खण्डमा नाली, सर्भिस लेन निर्माण लगायतका लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा २ अर्ब ७ करोड रुपैयाँ छुट्याएको छ । ८.२ किलोमिटरको कलंकी–बसुन्धरा खण्डको डीपीआर नै तयार भइनसकेकाले लागत टुंगो छैन । निर्धारित समयमा काम पूरा भएन भने लागत झन् बढ्न सक्छ ।
कलंकी–बसुन्धरा खण्डमा नेपाल सरकारले सातवटा प्याकेजमा ठेक्का लगाएर नाली र सर्भिस लेन बनाइरहेको छ । ठाउँ–ठाउँमा सडक भत्काइएकाले सडक धुलाम्मे भएको छ । चक्रपथ विस्तारको काम जति ढिला भयो, सुक्खायाममा धुलाम्मे र पानी परेका बेला हिलाम्मे हुने समस्या रहिरहनेछ । यसबाट सवारीसाधनको आउजाउ पनि प्रभावित हुन्छ र आसपासका बासिन्दालाई समेत असर पर्छ । त्यसैले चक्रपथ विस्तारमा विलम्ब गर्नु हुँदैन । तत्काललाई डीपीआर जतिसक्दो छिटो तयार गर्न ताकेता गर्नुपर्ने खाँचो छ । चिनियाँ कम्पनीले तयार गरेको डीपीआर दुवैतर्फका मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र सम्झौताको चरण सुरु हुन्छ । डीपीआर तयारपछिका प्रक्रियामा पनि विलम्ब गर्नु हुँदैन । नेपाल र चीन दुवै सरकारको जोडबल कलंकी–बसुन्धरा खण्डको काम बेलैमा सक्नेमा हुनुपर्छ ।
अर्को चरणमा बसुन्धरादेखि चाबहिलस्थित धोबीखोला पुलसम्मको चक्रपथ विस्तार गर्नुपर्नेछ । कलंकीदेखि चाबहिलसम्म दोस्रो चरणमै विस्तार गर्न नेपाल सरकारले आग्रह गरेकामा चीन बसुन्धरासम्म मात्र विस्तार गर्न तयार भएको हो । तेस्रो चरणमा काम हुने भनिएको क्षेत्रमा साइट क्लियर गरिसक्न अझै बाँकी छ । त्यसमा खास गरी महाराजगन्ज क्षेत्रमा समस्या छ । दोस्रो चरणको काम हुँदाहुँदै त्यस क्षेत्रलाई पनि खाली गराउन सकेलगत्तै तेस्रो चरणको काम अघि बढ्ने वातावरण बन्छ । चक्रपथ विस्तार भइसकेपछि काठमाडौंको ट्राफिक व्यवस्थापनमा केही हदमा भए पनि सहजता आउनेछ । त्यसैले यस आयोजनामा अलमल गर्नु हुँदैन । आयोजनालाई बेलैमा सक्न नेपाल सरकारले आफ्नो तर्फमा रहेको जिम्मेवारी छिटोछरितो पूरा गर्दा सकारात्मक सन्देश पनि प्रवाह हुन्छ । कान्तिपुर