Loktantra Khabar National Weekly
Ad

असईको पेस्तोलबाट गोली चल्दा जवान घाइते, यादव निलम्बित

लोकतन्त्र खबर
१० मंसिर २०८०

महोत्तरी जिल्लाको हलखोरी प्रहरी चौकीका इञ्चार्ज असई बच्चा यादवलाई निलम्बन गरिएको छ । उनले बोक्ने पेस्तोलबाट गोली चल्दा ड्युटीमा रहेका एक जना प्रहरी जवान घाइते भएका छन् ।

असई यादवलाई निलम्बन गरी अनुसन्धान सुरु भएको महोत्तरी जिल्लाका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए । उनले प्रारम्भिक अनुसन्धानमा जानाजान गोली चलेको नदेखिएको बताएका छन् । ‘असईको पेस्तोलबाट गोली चलेर प्रहरी जवान घाइते भएका छन्’ उनले भने, घटनाको प्रारम्भिक अनुसन्धानमा पेस्तोलबाट निस्केको गोली पर्खालमा लागेर फर्केपछि जवानको पाखुरामा लागेको देखिन्छ । घाइते प्रहरी जवानको भारत बिहार राज्यको अस्पतालमा उपचार भइरहेको छ ।

जवान खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीप कुमार गिरिले बताएका छन् । घटनाको छानबिनका लागि समिति बनाइएको बताउँदै गिरिले भने, समितिको प्रतिवेदनपछि ठोस निर्णय हुनेछ । गत कार्तिक ३० गते राति घटना भए पनि ढाकछोप गरिएको थियो । घाइते भएका जवान साहलाई उपचारका लागि भारतमा पठाइएको थियो । तर उपचारको क्रममा भारतीय प्रहरीले घटनाको छानविन गर्दा रहस्य खुलेको हो ।

अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ गरेको खुसीमा प्रहरी चौकी इन्चार्जले पेस्तोल चलाउँदा गोली लागेर प्रहरी जवान घाइते भएका हुन् । हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादवको पेस्तोल पड्किंदा गोली लागेर त्यहाँ कार्यरत प्रहरी जवान राजेशकुमार साह घाइते भएको घटना बाहिरिएको हो । राजेश सप्तरीका बासिन्दा हुन् । कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका–८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहितको ७/८ जनाको समूहले लुटपाट गरेको थियो ।

कुख्यात डाँका सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई कार्तिक २८ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीले रौतहटबाट पक्राउ गरेको थियो । तर पक्राउ गरेर ल्याउने क्रममा भाग्न खोज्दा दुबै जनालाई प्रहरीले खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । त्यही खुसीमा दुई दिनपछि कार्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोजको आयोजना गरिएको थियो । भोजबाट फर्केका असई यादवले थानामा पेस्तोल खेलाउँदा अचानक गोली चलेको थियो । तर गोली पर्खालमा लागेर फर्केपछि जवान साहको पाखुरामा लागेको दाबी गरिएको छ ।

गोली लागेर घाइते भएका जवान साहको गृह जिल्ला सप्तरीमा प्रहरीलाई भारतीय प्रहरीले सूचना दिएपछि महोत्तरी प्रहरीले जानकारी पाएको बताइएको छ । तर प्रहरी सम्बद्ध स्रोतहरुका अनुसार घटनाबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पहिला देखि नै जानकारी रहेको थियो । घाइतेको अवस्था खतरा बाहिर रहेकाले गुपचुप नै राखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्: