Loktantra Khabar National Weekly
Ad

हलिउड कलाकारको हड्ताल बिहीबार टुंगिंदै, एआईबाट सुरक्षा र पारिश्रमिक वृद्धिमा सहमति

लोकतन्त्र खबर
२३ कार्तिक २०८०

काठमाडौं । स्टुडियोविरुद्ध हलिउड कलाकारको हड्ताल बिहीबार टुंगिने भएको छ । हलिउड फिल्म र टेलिभिजन कलाकारको छाता संस्था साग-आफ्ट्राका वार्ताकारले एक अस्थायी सम्झौतालाई अनुमोदन गरेसँगै हड्ताल टुंगिने भएको हो ।

११८ दिन चलेको हड्ताल अमेरिकी समयानुसार बिहीबार मध्यरातमा टुंगिने भेराइटी म्यागजिनले उल्लेख गरेको छ । यो हड्ताललाई हलिउड इतिहासमै सबैभन्दा लामो र आर्थिक रुपमा विनाशकारी बताइएको छ ।

युनियनको वार्ता समितिले बुधबार सर्वसम्मत रुपमा हड्ताल टुंग्याउने सम्झौतालाई अनुमोदन गरेको छ । यो सम्झौतालाई अर्को शुक्रबार स्वीकृतिको लागि साग–आफ्ट्राको राष्ट्रिय बोर्डमा पठाइनेछ ।

दुवै पक्षले पछिल्ला केही दिनदेखि सम्झौतालाई अन्तिम रुप दिने प्रयास गरिरहेका थिए । यो सम्झौताले कलाकारलाई कृत्रिम बौद्धिकता (एआई)बाट सुरक्षित तुल्याउनेदेखि ऐतिहासिक रुपमा पारिश्रमिक वृद्धि गर्नेतर्फ कदम चाल्नेछ । सम्झौतापछि कलाकारको पारिश्रमिक सात प्रतिशतले वृद्धि हुनेछ ।

संस्थाका सदस्यलाई पठाइएको इमेलमा जनाइएअनुसार सम्झौतामा ‘स्ट्रिमिङ सहभागिता बोनस’ पनि सामेल हुनेछ । साथै, पेन्सन र स्वास्थ्य योगदानमा समेत वृद्धि हुनेछ । यो सम्झौताको रकम कुल एक अर्बभन्दा बढी रहेको युनियनले जनाएको छ ।

‘हामी एक सम्झौतामा आइपुगेका छौं, जसले हाम्रा सदस्यलाई दिगो करिअर निर्माण गर्न सक्षम बनाउँछ,’ युनियनले इमेलमा भनेको छ, ‘अहिले र भविष्यमा हजारौं कलाकारले यसबाट लाभ उठाउनेछन् ।’ युनियनले सम्झौतालाई लिएर देशभर उत्सव भेला आयोजनाको तयारी गरेको छ ।

समिति सदस्य केभिन ई वेस्टले सम्झौता अनुमोदन भएपछि ‘हर्ष र आनन्दको आँसु’ आएको बताए ।

‘अन्तिम मतदान सर्वसम्मत थियो । त्यो पूरा गर्न गाह्रो कुरा हो,’ वेस्टले युनियन मुख्यालय बाहिर बोल्दै भने, ‘इमानदारीपूर्वक सम्झौता गर्न हामीलाई दुई हप्ता लामो समय लाग्यो ।’ उनले यो सम्झौता पनि पूर्ण नभएको बताए । ‘अन्तिम सम्झौता अझै पूर्ण छैन । तर यो नतिजामा पुग्नु एक असाधारण उपलब्धि हो,’ उनले भने ।

समितिका अर्का सदस्य बेन ह्वाइटहेयरले उक्त सम्झौता युनियनको लागि ठूलो जित भएको बताए । ‘यो अविश्वसनीय र भावनात्मक छ, हामीले इतिहास रच्यौं,’ उनले भने ।

हड्ताल अन्त्य गर्न तयार पारिएको सम्झौताको विस्तृत विवरण चाहिं शुक्रबारसम्म आइपुग्ने अपेक्षा गरिएको छ । यसअघि सन् १९८० मा टिभी र फिल्म कम्पनीविरुद्ध कलाकारको हड्ताल ९५ दिनसम्म चलेको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: