Loktantra Khabar National Weekly
Ad

मुगु हत्याकाण्ड : शङ्कास्पद एक जना पक्राउ

लोकतन्त्र खबर
१३ कार्तिक २०८०

सुर्खेत। मुगुमा तीन बालबालिकासहित चार जनाको हत्या गरिएको विषयमा शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ जारी राखेको छ । यद्यपि ती व्यक्तिको नाम ठेगाना भने गोप्य राखिएको छ। अनुसन्धानमा बाधा नपुगोस् भन्ने उद्देश्यले नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ।

‘कुनै ‘क्लु’ पत्ता लागेर भन्दापनि शङ्काको आधारमा सोधपुछका लागि मात्र हो, यसलाई पक्राउ भन्न मिल्दैन,’ घटनामा सक्रिय एक अनुसन्धान अधिकृतले भने । ती अधिकृतका अनुसार अहिलेसम्म घटनाको विषयमा कुनै ‘क्लु’ पत्ता लागेको छैन ।

तालिम प्राप्त कुकुर, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली र जुम्लाबाट पनि अनुसन्धान विशेष टोली खटिएको छ। तर, तालिम प्राप्त कुकुरले पनि कुनै सङ्केत दिन सकिरहेको छैन। आइतबारदेखि अनुसन्धानलाई सघाउन डीआईजी भीमप्रसाद ढकाल पनि घटनास्थलमा पुगेका छन्।

शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।

घटना बुधबार बेलुका नै घटेको र प्रहरीले ढिला गरी थाह पाएका कारण पनि अनुसन्धानमा कठिनाइ भइरहेको अनुसन्धान सक्रिय एक अधिकृतले राताेपाटीलाई जानकारी दिए । शनिबार शव जिल्ला अस्पतालमा ल्याइएको भए पनि पाेस्टमार्टम हुन सकिरहेको छैन।

छाँयानाथ रारा नगरपालिका–६, वडाध्यक्ष खेमबहादुर रावल भन्छन्, ‘अपराधी पक्राउ नै नपरी पाेस्टमार्टम गर्न गाह्रो छ। पाेस्टमार्टम गरेपछि लास बुझ भन्लान्, त्यसो गरे त हुँदैन नि !’  रातोपाटी

प्रतिक्रिया दिनुहोस्: