Loktantra Khabar National Weekly
Ad

बल्ल अघि बढ्यो बहुचर्चित भेरी लिफ्ट खानेपानी परियोजना

लोकतन्त्र खबर
२१ आश्विन २०८०

तीन दशकपछिको जनसंख्यालाई मध्यनजर गरी अघि बढाइएको योजना हो ‘भेरी पम्पिङ’

सुर्खेत । बहुचर्चित भेरी लिफ्ट खानेपानी परियोजनाको काम अघि बढेको छ । निकै लामो समयदेखि चर्चामा रहेको उक्त आयोजना कार्यान्वयनका लागि हालै टेण्डर आह्वान भएको छ ।

पहिलो चरणमा साढे ४ अर्बभन्दा बढी लागत अनुमान गरिएको परियोजनाको टेण्डर आह्वान भएसँगै वीरेन्द्रनगर नगरपालिकामा खानेपानीको समस्या समाधान हुने आशा पलाएको छ ।

०७९ भदौ १६ मा नेपाल सरकार खानेपानी मन्त्रालय, खानेपानी विभाग र वीरेन्द्रनगर नगरपालिकाबिच सहभागिता सम्झौता भए पश्चात् परियोजना औपचारिक रुपमा सुरु भएको थियो । ‘विश्वास छ, परियोजना समयमै सम्पन्न भई वीरेन्द्रनगरको खानेपानी समस्या समाधान हुनेछ,’ वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल भन्छिन् ।

यस्तो छ भेरी लिफ्ट खानेपानीको अवधारणा

प्रदेश राजधानी बनेसँगै वीरेन्द्रनगरमा दिन प्रतिदिन जनसंख्या बढ्दो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार यसअघि २ लाख जनसंख्या रहेको उपत्यकामा ३५ हजार घरधुरी थिए । उक्त जनसंख्यालाई सहज खानेपानीको आपूर्ति गर्न करिब २७८ लिटर प्रतिसेकेन्ड पानी आवश्यक पर्थ्यो । सुर्खेत उपत्यका खानेपानी संस्थाका अनुसार हाल प्रयोगमा ल्याइएका स्रोतहरूबाट १२८ लिटर प्रतिसेकेन्ड पानी उपलब्ध हुने भएकाले पानीको चरम अभाव छ ।

३५ हजार घरधुरीमध्ये हालसम्म २० हजार घरधुरीमा मात्रै खानेपानीको धारा जडान भएको छ । अहिले प्रयोग भइरहेको पानी आवश्यक भन्दा ५४ प्रतिशतले कम हो । हाल झुप्रा खोला, खरिखोला बोरीखोला, खोर्के खोला तथा बुलबुले काठकुवा खोलाबाट गरी १५७ लिटर प्रतिसेकेन्ड पानी ल्याइ आपूर्तिको व्यवस्था मिलाइएको छ । खडेरीको समयमा माग बढ्ने भए पनि मुहानमा पानी घट्ने हुँदा खानेपानीको अभाव हुने गरेको छ ।

तीन दशकपछिको जनसंख्यालाई मध्यनजर गरी वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्न भनेर अघि बढाइएको योजना हो– ‘भेरी पम्पिङ’ योजना ।

०७७ देखि आयोजनाका लागि बजेट विनियोजन हुँदै आएको हो । भेरीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर ल्याउन संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाअन्तर्गत लिफ्टिङ प्रविधिमार्फत् पानी उपत्यकामा ल्याउने भनिएको छ ।

आयोजना ६ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका उप–निर्देशक मधुसुधन खनालका अनुसार पानी प्रशोधन केन्द्र लेकबेसी नगरपालिकाको वन क्षेत्रमा राख्नुपर्ने छ ।

दुई चरणमा सम्पन्न हुने आयोजनाका लागि पहिलो चरणअन्तर्गत ४ अर्ब ६५ करोड ३० लाख ६६ हजार बराबरको बजेट सुनिश्चित भइसकेको छ । पहिलो चरणको कामका लागि अहिले टेण्डरसमेत भइसकेको छ । असार मसान्तसम्म आयोजनाको टेण्डर आह्वान गरिने भनिए पनि‌ १२ असोजमा मात्र भएको हो । पहिलो चरणमा नदीबाट पानी पम्पिङ गर्ने, ट्याङ्की बनाउनेदेखि पानी वितरणसम्मको काम हुनेछ ।

आयोजनाले भेरी नदीमा तयार गरिने इन्टेकबाट ७ किलोमिटर दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर नगरपालिका–११, अमृत डाँडामा पानी ल्याउने छ । पहिलो चरणमा भेरी नदीमा इन्टेक निर्माण, पानी प्रशोधन प्रणाली, रिजर्भ ट्याङ्की निर्माण र अमृत डाँडादेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार गर्ने लक्ष्य छ ।

दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ । भेरीको पानी ४०० मिटर उचाइमा प्रशोधन ट्याङ्की (ट्रिटमेन्ट प्लान्ट) मा खसालिने छ ।

त्यसपछि करिब ७ किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ । त्यसपछि ५५० मिलिमिटर क्षमताको पाइप अमृत डाँडामा राखेर मुख्य ट्याङ्कीसम्म ल्याइने छ ।

अमृत डाँडामा रहने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । अबको ६ वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा आइपुग्ने लक्ष्य राखिएको छ । आयोजनाबाट वीरेन्द्रनगरको ५ लाख जनसंख्या लाभान्वित हुनेछन् । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: