Loktantra Khabar National Weekly
Ad

लुम्बिनी प्रदेश सरकार खर्चमा सुस्त : कुन मन्त्रालयको कति ?

लोकतन्त्र खबर
१९ आश्विन २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको खर्चको गति सुस्त देखिएको छ । उसले भदौ मसान्तसम्म ६४ करोड रकम मात्र खर्च गर्न सकेको छ । यो आर्थिक वर्षको २ महिनामा विकास बजेट २४ करोड ९१ लाख ९४ हजार ९०० रचालु खर्च ३९ करोड २० लाख २ हजार ८१९ रुपैंया मात्रै खर्च भएको  कोष तथा लेखा नियन्त्रण प्रदेश कार्यालयमा लेखा नियन्त्रण लक्ष्मण पौडेलले जनाए ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि पुँजीगत खर्च २३ अर्ब २५ करोड ६९ लाख १ हजार र चालु खर्च १७ अर्ब २२ करोड २७ लाख ९९ हजार गरी कुल४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरेको थियो ।

कुन मन्त्रालयले कति गरे खर्च ?
यो अवधिमा सबैभन्दा धेरै खर्च गर्ने गृह मन्त्रालय रहेको देखिन्छ भने सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय रहेको छ। गृह मन्त्रालयले ४.९७ प्रतिशत खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २ महिनामा चालु र पुँजी गरी ०.४८ प्रतिशत बजेट मात्रै खर्च गरेको छ ।

अर्थ मन्त्रालयले चालूतथा पुँजीगत गरी ३.६९ प्रतिशत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १.४८ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले २.८२ प्रतिशत, कृषि, तथा भूमि व्यवस्था मन्त्रालयले २.८२ प्रतिशत बजेट खर्च गरेका छन् ।

उता, वनतथा वातावरण मन्त्रालयले २.४५ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले ०.६८ प्रतिशत, खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले २.१९ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ३.९४ प्रतिशत, स्वास्थ्य मन्त्रालयले १.५६ प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । प्रदेशसभाले ३.८० प्रतिशत र प्रदेश लोकसेवा आयोगले २.२६ प्रतिशत मात्रै बजेट खर्च गरेको देखिन्छ ।

असारमा हतार, अहिले सुस्त 
लुम्बिनी प्रदेश सरकार मात्रै नभएर धेरैजसो स्थानीय तथा प्रदेश सरकारका कामहरू असारमा हतार, अहिले सुस्त देखिन्छ ।  लुम्बिनी प्रदेश सरकार  यो दुई महिनाको अवधिमा ६४ करोड गरेको छ । तर त्यही सरकारले गत आर्थिक वर्ष २०७९-८० को अन्तिम महिना असारको ७ गतेदेखि २४ गतेसम्म मात्रै ७ अर्ब ३५ करोड ४६ लाख बजेट खर्च गरेको थियो। त्यस्तै, असार २० गतेदेखि २४ गतेसम्म ४ दिनमै ४ अर्ब ७२ करोड ४० लाख खर्च गरेको थियो ।

प्राध्यापक माधव पौडेल भन्छन्, ‘अहिले धेरै ठाउँमा खर्च हुने बेला छैन तर जब असार लाग्छ, त्यहीबेला हतार हतारमा गोष्ठी,सेमिनारमा समेत खर्च गर्ने प्रवृत्ति देखिन्छ ।’
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेयले अहिले भर्खर काम सुरु हुने बेला भएकोले ठुला ठेक्का तथा अन्य खर्चहरू नहुँदा खर्च थोरै देखिनु स्वाभाविक रहेको बताए।  रासस

 

प्रतिक्रिया दिनुहोस्: