Loktantra Khabar National Weekly
Ad

एमाले गण्डकी अधिवेशन : अझै सुरु हुन सकेन मतदान

लोकतन्त्र खबर
१८ आश्विन २०८०

पोखरा । नेकपा एमाले गण्डकीको सोमबारदेखि सुरु भएको प्रदेश अधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि मतदान कार्यक्रम थियो । तर मतदानको समय  घर्किसक्दा समेत मतदान हुन सकेको छैन ।

प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापाका अनुसार आज ११ः ५५ बजेबाट मतदान सुरु गर्ने कार्यतालिका निर्धारण भएको छ ।

नेतृत्व चयनका लागि बुधबार मनोनयन सकिएको छ । नेतृत्वका लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीले प्यानल सहित मनोनयन दर्ता गरेका छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थनमा अध्यक्ष दोहोर्‍याउने दाउमा रहेका शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, महिला उपसचिवमा मन्जु अधिकारी र खुला उपसचिवमा दामबहादुर विकले उम्मेदवारी दिएका छन् । लेखा आयोगको अध्यक्षमा अमृत ज्ञवाली, उपाध्यक्षमा गिरधारी सापकोटा र सचिवमा वीरबहादुर बिकले उम्मेदवारी दिए ।

केन्द्रीय सदस्य खगराज अधिकारीको समर्थनमा अध्यक्ष बन्ने दौडमा रहेका मायानाथको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मि आचार्य, महिला उपसचिवमा मीना गुरुङ र खुला उपसचिवमा सन्तोष रावलले उम्मेदवारी दर्ता गरेका छन् । लेखा आयोग अध्यक्षमा रामबहादुर जिसी, उपाध्यक्षमा शिवजी पौडेल र सचिवमा वैकुण्ठनाथ आचार्यले उम्मेदवारी दिएका निर्वाचन समितिले जनाएको छ ।

अधिवेशन अन्तर्गत २७ सदस्य निर्विरोध निर्वाचित भैसकेका छन् । निर्विरोध भएकामध्ये ६ जना अधिकारी प्यानलका छन् भने बाँकी शर्मा प्यानलका रहेको दाबी गरिएको छ । अधिकारी प्यानलका कार्यकर्ताहरू भने त्यसलाई स्विकार्दैनन् । निर्विरोध भएका मध्ये अधिकांश पद्मा अर्याल पक्षको भएको र अर्यालको समर्थन अधिकारीलाई रहेको दाबी उनीहरूको छ ।

एमाले गण्डकीले १ सय ६५ सदस्यीय नयाँ कमिटी गठन गर्नेछ । दुवै पक्ष अध्यक्ष केपी शर्मा ओली पक्षधर भए पनि प्रदेशमा छुट्टाछुट्टै गुट निर्माण भएको छ ।

शर्माले समर्थन पाएका पिएस केन्द्रमा विष्णु पौडेलसँग जोडिएका छन् भने अधिकारीले समर्थन पाएका खगराज केन्द्रमा शङ्कर पोखरेलसँग जोडिएका छन् । त्यसैले गण्डकीको अधिवेशनबाट शङ्कर र विष्णुको शक्ति प्रमाणित हुने एमाले वृत्तमा चर्चा छ । विद्युतीय मतदान हुने भएकाले परिणाम आउन समय लाग्दैन । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: