Loktantra Khabar National Weekly
Ad

आज गुगलको २५ औं जन्मदिन

लोकतन्त्र खबर
१० आश्विन २०८०

सर्च इन्जिन ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ २५ औं जन्मदिन मनाइरहेको हो।

गुगलको सुरुआत सन् १९९८ सेप्टेम्बर ४ मा भएको हो। प्रत्येक वर्ष यो मितिलाई कम्पनीले स्थापना दिवसको रूपमा मनाउँदै आएको छ भने सेप्टेम्बर २७ को दिनलाई जन्मदिनको रूपमा मनाउँदै आएको छ। औपचारिक रूपमा गुगल सेप्टेम्बर २७ मा सार्वजनिक भएको हो।

आफ्नो २५ औं जन्मदिनको अवसरमा गुगलले लोगो परिमार्जन गरेको छ। गुगलको होमपेजमा लोगो देखिने ठाउँमा आज डुडल देख्न सकिन्छ। गुगलले आफ्नो विशेष दिनको उत्सवमा ‘वाल्क डाउन मेमोरी लेन’ अन्तर्गत विभिन्न डुडल प्रदर्शनी गरेको छ। सोही अन्तर्गतको यो एक हो।

आज होमपेजमा ‘गुगल’ लेखिने ठाउँमा ‘गु२५गल’ देख्न सकिन्छ। गुगलका अनुसार भविष्यतर्फ उन्मुख हुँदै गर्दा कम्पनीले आजको दिनलाई ‘प्रतिबिम्बित गर्ने समय’ को रूपमा प्रयोग गरेको हो।

‘आजको डुडलले गुगलको २५औं वर्ष मनाएको छ। भविष्यतर्फ उन्मुख हुँदागर्दा जन्मदिनहरू प्रतिबिम्बित गर्ने समयका रूपमा लिन सकिन्छ। हामी २५ वर्षअघि कसरी जन्मेका थियौं भन्ने जान्नको लागि यो मेमोरी लेनमा हिंडौं,’ गुगलले आफ्नो ब्लगमा लेखेको छ।

गुगलको स्थापना दुई जना डक्टरेट विद्यार्थीहरू सर्गे ब्रिन र ल्यारी पेजले गरेका हुन्। १९९० को दशकको अन्तिमतर स्ट्यानफोर्ड विश्वविद्यालयको कम्प्युटर विज्ञान कार्यक्रममा भेटेका यी दुई डक्टरेट विद्यार्थीहरूले गुगलको स्थापना गरेका हुन्।

वर्ल्ड वाइड वेबलाई थप पहुँचयोग्य बनाउने साझा दृष्टिकोण भएका यी दुई डाक्टरेट विद्यार्थीहरूले राम्रो खोज इन्जिनको लागि प्रोटोटाइप विकास गर्न सक्रिय भए।

गुगल ब्लगमा लेखिए अनुसार उनीहरूले सो परियोजनामा अर्थपूर्ण प्रगति गरे। र, सन‍् १९९८ मा गुगल इंकको सुरुआत गरे। यसपछि गुगलमा विभिन्न समय विभिन्न किसिमका परिवर्तनहरू हुँदै गएका छन्। अहिले गुगल धेरैको दैनिकी बनेको छ। विश्वभरको सूचनालगायतलाई व्यवस्थित राख्न गुगल लागिपरेको छ।

गुगलको २५ औं जन्मदिनको अवसरमा यसका प्रमुख कार्यकारी अधिकृत (सिइ‌ओ) सुन्दर पिचाईंले कम्पनीको जन्मदिनका अवसरमा गुगलको सफलतामा सहभागी हुने प्रयोगकर्ता, कर्मचारी र साझेदारहरूप्रति कृतज्ञता व्यक्त गरे। यससँगै उनले नवीनता र अनुकूलनको महत्वबारे आफ्नो धारणाहरू व्यक्त गरे।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: