Loktantra Khabar National Weekly
Ad

घाटको जग्गा भू–माफियाको कब्जामा

लोकतन्त्र खबर
१० आश्विन २०८०

मालपोतका कर्मचारीले पनि गडबड गरेको आशंका

बुटवल । भैरहवामा भू–माफियाहरूले घाटको जग्गा पनि व्यक्तिको नाममा दर्ता गराएको खुलेको छ । हालै गाउँ ब्लक नापजाँच गराउने क्रममा घाटको जग्गा व्यक्तिको नाममा रहेको खुलेपछि स्थानीयहरू भू–माफियालाई कारबाही र सार्वजनिक जग्गा संरक्षणको माग गर्दै विभिन्न निकायमा धाउन थालेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१०, एयरपोर्ट नजिक घागरा खोला छेउमा रहेको पितृ विसर्जन तथा शव दहन स्थल रहेको एक बिघा ११ कठ्ठाभन्दा बढी जग्गा व्यक्तिको नाममा पुगेको खुलेको छ । उक्त जग्गा अर्घाखाँचीको साविक मैदान गाविस–५ बस्ने फर्शुराम घिमिरेको नाममा रहेको नापी कार्यालयबाट खुलेको हो ।

सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडा अध्यक्ष मुक्तिनाथ यादवले तीन दिन अगाडि जग्गा नापचाँच गर्ने क्रममा वडा नम्बर ४ र १० का बासिन्दाले वर्षौंदेखि प्रयोग गर्दै आएको घाट व्यक्तिको नाममा रहेको खुलेपछि आफूहरूले भू–माफियालाई कारबाही र सम्पत्ति रोक्काको लागि विभिन्न ठाउँमा ज्ञापनपत्र बुझाएको रातोपाटीलाई बताए ।

जिल्ला मालपोत कार्यालय रुपन्देहीका प्रमुख मालपोत अधिकृत कुमार आचार्यका अनुसार उक्त जग्गाको जग्गाधनी पुर्जा २०७० सालमा जारी गरिए पनि मालपोतमा भने २०७१ सालमा दर्ता गरिएको छ । मालपोत कार्यालय रुपन्देहीबाट २०७० वैशाख २८ गते फर्शुराम घिमिरेको नाममा जग्गा दर्ता भएको देखिएको छ ।

स्थानीयका अनुसार सो ठाउँलाई घाटको रूपमा प्रयोगका लागि २०४९ सालमा स्थानीयवासी र सिद्धार्थनगर नगरपालिकाको सहयोगबाट विश्राम घर र दाहसंस्कार गर्न स्थान तयार गरिएको थियो । सिद्धार्थनगर नगरपालिकाको प्रथम नगर प्रमुख डा.बलराम गौतमले पूजा अर्चना गरी उक्त स्थान शव विसर्जन गर्ने स्थानका रूपमा सञ्चालनमा आए पनि हाल व्यक्तिको नाममा पुगेको खुलेपछि स्थानीयवासी जग्गा संरक्षणका लागि दौडधुप गरिरहेका छन् ।

रुपन्देहीमा केही समयदेखि गाउँ ब्लकको नाममा जग्गा नापजाँचको काम भइरहेको छ । जग्गा नापजाँच भएपछि सिफारिसको आधारमा लालपुर्जा प्राप्त गर्ने प्रक्रियामा जान्छ ।

सोही क्रममा सिद्धार्थ नगरपालिकाको वडा नम्बर १० र ४ का स्थानीयले शव दाहस्थलको रूपमा प्रयोग भएको जग्गालाई पनि नापजाँच गरेर सधैँका लागि सुरक्षित गर्ने पहल गरेका थिए ।

सोही क्रममा ३ दिन अगाडि जिल्ला नापी कार्यालय भैरहवाले उक्त जग्गा व्यक्तिको नाममा रहेको जानकारी गराएपछि आफूहरू छाँगाबाट खसेजस्तै भएको वडा नम्बर ४ का अध्यक्ष भोला यादवले बताए ।

मालपोत कार्यालय प्रमुख कुमार आचार्यले विभाग तथा अन्य ठाउँमा बुझ्दा मालपोत कार्यालय बुटवलबाट ०७१ सालमा उक्त जग्गा व्यक्तिको नाममा कम्प्युटरमा इन्ट्री भएको देखिएको खुलाए ।

उनले थप अध्ययन तथा छानबिनका लागि जिल्ला प्रशासन या प्रहरीमा पत्र लेख्ने तयारी गरेको पनि जानकारी दिए । उनले भने, ‘अन्य मोठ भिडाउँदा भेटिँदैन, त्यसकारण यसबारे गम्भीर छानबिन गर्नुपर्छ ।’

कुन जग्गा कहिले कसका नाममा राजीनामा भएको भन्ने विवरण समेत स्पष्ट हुनुपर्नेमा त्यो नभई पर्ती जग्गा रहेको जवाफ मालपोतबाट आएपछि आफूहरूलाई भू–माफियासँग मालपोत कार्यालयको मिलेमतोमा उक्त जग्गा व्यक्तिको नाममा सारिएको आशंका भएको वडा अध्यक्ष यादवले रातोपाटीलाई बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नापी, मालपोत तथा अन्य सबैलाई बोलाएर यसबारे बुझ्ने र आवश्यक परे अनुसन्धान टोली नै गठन गर्ने बताएका छन् । उनले राज्यको सम्पत्ति संरक्षण गर्ने र त्यो सम्पत्तिमाथि दायाँबायाँ गर्न खोज्ने जो कोहीलाई कारबाही गर्ने प्रस्ट पारे । रातोपाटी

प्रतिक्रिया दिनुहोस्: