Loktantra Khabar National Weekly
Ad

‘जनतासँग माओवादी अभियान’को सल्यानी मोडेल, अरूका लागि हुन सक्छ सिकाइ !

लोकतन्त्र खबर
८ आश्विन २०८०

श्रम शुक्रबार, दुःखीसँग दुई दिन, म लेख्छु, म पढ्छु, म बोल्छु, म गर्छुसम्मका कार्यक्रम सञ्चालित

सुर्खेत । नेकपा (माओवादी केन्द्र) ले सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सबैतिर चलिरहेको छ । पार्टी केन्द्रको नीति र निर्देशनअनुसार सञ्चालन भएको अभियानअन्तर्गत रहेर नेता, कार्यकर्ता गाउँ गाउँमा सक्रिय छन् ।

तर सल्यानमा भने त्यसैको जगमा टेकेर ‘अभियानको सल्यान मोडेल’ स्थापित गरिएको छ । अन्य जिल्लाको भन्दा सल्यानमा भिन्न र नयाँ तरिकाले माओवादी रूपान्तरण अभियान सञ्चालन भइरहेको छ । अभियानका सल्यान इन्चार्ज नरेश भण्डारीले सुदृढ माओवादी, रूपान्तरित माओवादीसहितको सल्यान मोडेल तयार गरेका छन् ।

भण्डारीले भदौ ७ देखि मङ्सिर ५ सम्मको तीन महिने अभियान क्यालेन्डर सार्वजनिक गरेका छन् । उक्त क्यालेन्डरमा ‘रूपान्तरित र विस्तारित माओवादी निर्माण हाम्रो अभियान, समृद्ध र सुशासित सल्यानका लागि गरौँ योगदान’ भन्ने मूल नारा दिइएको छ ।

सहिद खिमहेधन जिल्ला अभियान टोेली गठन गरेर तीन महिनासम्म गरिने सबैखाले गतिविधि क्यालेन्डरमा सार्वजनिक गरिएको छ । ६१ बुँदामा निर्धारण गरिएको कार्यक्रमअन्तर्गत वर्तमान युवा पुस्तादेखि ज्येष्ठ नागरिक, नेता, कार्यकर्तालाई सिर्जनशील बनाउनेदेखि श्रम अभियानसम्मका कार्यक्रम छन् । यी वर्तमान समाजका लागि अपरिहार्य विषय हुन् ।

2 (1)

 

अभियानअन्तर्गत पार्टी निर्माण, सङ्गठन तथा मोर्चाका प्रशिक्षण, घरदैलो, सिर्जनशील सप्ताह, विचार बहसलगायतका कार्यक्रम रहेका छन् । प्रमुख कार्यक्रम २२ वटा शीर्षकमा छन्, जुन अहिलेसम्म अन्त कतै सुनिएका र सञ्चालन भएका भन्दा भिन्न छन् । मतदातासँग मनका कुरा, माओवादीसँग जनका कुरा, सल्यानीसँग सरकार, सङ्कल्प सभा, जनतासँग जनसङ्गठन, विचार, बहस, सङ्गठन नै शक्ति, उत्पादन उत्प्रेरणा, श्रम शुक्रबार, सञ्चारकर्मीसँग सहकार्य, म लेख्छु, म पढ्छु, म बोल्छु, म गर्छु, सिर्जनशील सप्ताह, सुशासनको सुइँको र सङ्घर्ष, भुड्की, शिक्षामा सिकायत र समाधान, स्वास्थ्यमा सकस र समाधान, विकासमा विवेक र बेथिति, दुःखीसँग दुई दिन र घरघरमा माओवादी, जनजनमा माओवादी’ लगायतका कार्यक्रम छन् ।

पार्टीको केन्द्रीय निर्देशनसँगै यी २२ वटा कार्यक्रम सल्यानमा नयाँ तरिकाले रचिएका र कार्यान्वयमा ल्याइएका छन् । कुन दिन कहाँ के गर्ने भन्ने विषयसमेत क्यालेन्डरमा तयार गरिएको छ । सोहीअनुसार अभियानमा खटिएका नेता, कार्यकर्ताले अक्षरशः कार्यान्वयन गरिरहेको भण्डारी बताउँछन् ।

सामाजिक सञ्जाल सञ्चालन दक्षता अभिवृद्धि गर्न नेता कार्यकर्ताहरूलाई सहभागी गराई जिल्ला र हरेक पालिकामा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने कार्यक्रम पनि रहेको छ । प्रत्येक वडाको डिजिटल अभिलेख राख्ने र पार्टीको डिजिटल अभिलेख व्यवस्थापनका लागि जिल्लामा एक समिति गठन गर्ने पनि निर्णय भएको उनले बताए ।

‘म लेख्छु’ कार्यक्रममा पार्टी, अभियान, विकास, समृद्धि, सुशासनलगायतका समसामयिक विषयमा हरेक चरणको पहिलो दिन (भाद्र १६ गते, असोज १६ गते, कात्तिक १६ गते) र हरेक चरणको अन्तिम दिन (असोज १५ गते, कात्तिक १५ र मङ्सिर १५ गते) हरेक पार्टी सदस्यले मिडिया एवं सामाजिक सञ्जालमा लेख, रचना, स्टाटस लेख्नुपर्ने छ ।

‘म बोल्छु’ कार्यक्रममार्फत सामाजिक, राजनीतिक, आर्थिक, सुशासन, विकृति, विसङ्गतिविरुद्ध दृढतापूर्वक आफ्ना अभिमत निरन्तर प्रकट गरिरहने र मूलतः असोज १७, कात्तिक १, मङ्सिर १ गते सल्यानीसँग सरकार कार्यक्रममा आफ्ना अभिमत प्रकट गरिने छन् । पार्टी कमिटीका हरेक बैठकमा बेहिच्किचाहट आत्मालोचना एवं आलोचना गरिने छ ।

‘म गर्छु’ कार्यक्रममा राष्ट्र, जनता, राष्ट्रियता, विकास, समृद्धि, सुशासन, जनसेवा, पार्टी र अभियानका लागि योगदान गर्ने सङ्कल्पलाई शब्दमा नभएर व्यवहारमा अभिव्यक्त गर्नुपर्ने छ । ‘म सक्छु’ कार्यक्रममा व्यवसाय, अभियान, समाज, राष्ट्रको नेतृत्व गर्न सक्छु भन्ने सोच र आत्मविश्वास विकास गर्न विभिन्न गतिविधिहरू सञ्चालन हुने छन् ।

सुशासनको सुइँको र सङ्घर्ष कार्यक्रममा सुशासनसँग सम्बन्धित सुझाव, सूचना, मागपत्र, धर्ना र विरोध प्रदर्शन कार्यक्रम आयोजना गरिने छन् भने ‘माओवादीसँग जनका कुरा’ कार्यक्रममा पार्टीको विशेष रूपान्तरणका लागि जनताको घरघरमा पगेर आत्मीयतापूर्वक, राय, सुझाव, सल्लाह, धारणा खुला दिलका साथ मैत्रीपूर्ण भेटघाट तथा छलफल गरेर सुझाव सङ्कलन गरिने छन् । त्यो काम अहिले निरन्तर भइरहेको छ । ‘मतदातासँग मनका कुरा’ कार्यक्रममा हरेक मतदाताको दलीय आबद्धता र अवस्थाबारे अभिलेख राख्ने, मतदाताहरूसँग मुलुकको हित, उनीहरूका समस्या, जिल्लाको हित, पार्टीको योगदान, सरकारले थालेको सुशासनको कदम, पार्टी, अभियानका बारेमा प्रत्यक्ष भेटघाट गर्दै खुलेर मनका कुरा गरिने इन्चार्ज भण्डारीले बताए ।

शिक्षामा सिकायत र समाधान कार्यक्रममा शैक्षिक क्षेत्रमा देखिएका अनियमितता, विकृति, विसङ्गति, शैक्षिक गुणस्तरका समस्याबारे अभिलेख सङ्कलन, छलफल, बहस, अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने तथा शैक्षिक समस्या समाधानको इमानदार पहल गरिने छ भने स्वास्थ्यमा सकस र समाधान कार्यक्रममा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानको योजनाबद्ध पहल गरिने छ । कोष सञ्चालन कार्यविधि निर्माण गरी इन्चार्ज र अध्यक्षको संयुक्त दस्तखतबाट सञ्चालन गर्ने गरी अलग्गै कार्यकर्ता व्यवस्थापन कोष खडा गर्ने र उक्त कोषमा स्वैच्छिक रकम सङ्कलन गर्न भुड्की कार्यक्रम सञ्चालन गरिने भण्डारी बताउँछन् ।

सल्यानमा ‘श्रम शुक्रबार’ कार्यक्रम चलिरहेको छ । पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा आमजनतालाई परिचालन गरी असोज १२, कात्तिक १७, मङ्सिर १५ गते जनसेवा, सार्वजनिक निर्माण र सरसफाइका कार्यक्रम गरेर अभियानको ‘श्रम सुक्रबार’ मनाइने छ । विकासमा विवेक र बेथिति शीर्षकअन्तर्गत विकास र त्यसमा देखिएका बेथितिको चरफार गर्ने छ । भण्डारी भन्छन्, ‘आईसीटी भेला, इतिहासको विमोचन, अधुरा कार्य सम्पादन तथा प्रतिवेदन तयारी गर्ने कार्यलाई पनि व्यवस्थित बनाएर लगिएको छ । अभियानअन्तर्गत भित्रका यी कार्यक्रम पनि नयाँ तरिकाले तयार गरिएका हुन् ।

पालिका स्तरमा बैठक, प्रशिक्षण, जनवर्गीय सङ्गठन तथ मोर्चाका भेला, सम्मेलन सङ्कल्प सभा तथा प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमहरू गरिने भण्डारीले बताए । यसबाट सल्यानमा माओवादीमा नयाँ उभार ल्याउने अपेक्षा अभियान टोलीले गरेको छ । तीन महिने अभियानअन्तर्गत सल्यानमा थालिएको मोडेल अन्य जिल्लालाई सिकाइका रूपमा हुने माओवादीका प्रदेश तहका नेता, कार्यकर्ता बताउँछन् ।   रातोपाटी

प्रतिक्रिया दिनुहोस्: