Loktantra Khabar National Weekly
Ad

स्याउलामा घन्किए सामाजिक विभेदविरुद्धका तीज गीत

लोकतन्त्र खबर
२ आश्विन २०८०

बागलुङ।  बागलुङको तमानखोला १, स्याउलामा  सामाजिक विभेद विरुद्ध तीज गीतहरू घन्किएका छन् ।

तमान गाउँपालिका– १  र   स्थानीय आमा समूहसँगको समन्वयमा स्थानीय नव प्रगतिशील युवा क्लबको चाजोपाँजोमा यहाँका महिलाहरुले बालविवाह र सामाजिक विभेदविरुद्ध आवाज मात्रै सुनाएन छमछ्मी नचाए ।

देश बनाउने राजनीति खराब भयो चरित्र
हुनुपर्छ देशभक्ति सबको दिल भित्र

कलाकारहरूले तीजको भाकामा सामाजिक विभेद विरुद्ध आगो ओकले । सरकारलाई चुनौती दिए । जातीय छुवाछूत विरुद्ध एकजुट हुने सन्देश दिए ।  जात व्यवस्था अन्त्यको उद्घोष गरे , वर्ग विहीन समाजको कल्पना र बाटो देखाए । राजनीतिक इमानदार हुनुपर्नेमा जोड दिए ।

चेलीको वेदना र बिलौना गरी सकिने तीज अहिले सामाजिक जागरण, सशक्तीकरण र विद्रोहको तह सम्म आइपुगेको छ । समताको सन्देश बोकेको आशा घर्तिमगर र बिहानी रामजालीको समूह प्रथम हुँदै रु १ हजार पाँच सय र प्रमाणपत्र पाए ।

जातीय समानताको सन्देश दिएको फूल कुमारी सिर्पाली, रीतु रसाइली खममाया सिर्पालीको समूहको गीतले दोस्रो हुँदै रु एक हजार प्रमाणपत्र पायो भने  थम कुमारी वि।क र अनुजा खडकाको गीतले तेस्रो हुँदै   हुँदै रु ७ सय र प्रमाणपत्र पायो । दिलमाया र झरणाको समूह  सान्त्वना स्थान गर्न सफल भएको क्लबका सचिव बिर्ख बहादुर विकले जानकारी दिए ।

लोक नृत्य प्रतियोगीले आफू मात्रै नाचेनन् उपस्थित दिदीबहिनीलाई पनि छमछ्मी नचाए ।  नृत्यमा तिर्सना र पुष्पा सिर्पालीको समूह प्रथम, आशा घर्ती र अञ्जली विकको समूह द्वितीय  र  दिलमाया सिर्पाली र तिर्सना सिर्पालीको समूह तृतीय भयो।  टेकमाया र अनुजा खड्‌काको समूह सान्त्वना स्थान हासिल गर्न सफल भए ।

नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २ हजार १५ सय र एक हजार नगदसहित प्रमाणपत्र पाए भने सान्त्वना हुनेले प्रमाणपत्र पाएको क्लबका अध्यक्ष कवीन्द्र सिउतानीले जानकारी दिए  ।

बाल विवाह अन्त्य सामाजिक विभेद न्यूनीकरणमा केन्द्रित विशेष कार्यक्रमको प्रमुख अतिथि वडा सदस्य तेकलाल विश्वकर्मा, विशिष्ट अतिथि क्लबका सल्लाहकार देवेन्द्र घर्ती  मगर, दल प्रसाद पुन  र मिलीजुली आमासमुहका आशा घर्ती , नव परिवर्तनशील आमा जमुहका थम कुमारी वि।क। साथै वडा सदस्य देवसरा विकको उपस्थिति रहेको थियो ।  सयौँको सङ्ख्यामा महिला तथा पुरुषहरूको सहभागिता रहेको कार्यक्रममा दिदी बहिनीहरू दर खादै नाचेका थिए ।

कार्यक्रमलाई वडाले ६ हजार, मिलीजुली आमा समूह र नव परिवर्तनशील आमा समूहले ३–३ हजार नगद सहयोग गरेका थिए ।

क्लब अध्यक्ष कवीन्द्र सिउतानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रेम विकको स्वागत मन्तव्य राखेका थिए भने  सचिव बिर्खबहादुर विकले  सञ्चालन गरेका थिए । रातोपाटी

प्रतिक्रिया दिनुहोस्: