Loktantra Khabar National Weekly
Ad

भक्तपुरबाट लगिएका बालकले नाइके कुटेपछि सुरू भएको थियो वीरगञ्ज बाल सुधार गृहमा तनाव

लोकतन्त्र खबर
२७ भाद्र २०८०

उनीहरू सुरूदेखि नै हामी यहाँ बस्दैनौं, बस्नु परे कि मर्छौं कि मार्छौं भन्थेः सुधार गृह प्रमुख काफ्ले वीरगञ्जको बाल सुधार गृहमा मंगलबार रातिदेखि उत्पन्न तनाव केही मत्थर भएको छ।

मंगलबार बेलुका ८ बजेदेखि सुरू भएको तनाव १० घन्टापछि केही साम्य भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमारविक्रम थापाले जानकारी दिए।

स्थिति साम्य देखिए पनि प्रहरीले निगरानी गरिरहेको छ।

डिएसपी थापाका अनुसार सुधार गृहभित्रै रहेका दुई समूहबीचको विवाद झडपसम्म पुगेको हो।

भदौ ८ गते भक्तपुर सुधार गृहमा रहेकामध्ये १८ जनालाई स्थानान्तरण गरी वीरगञ्ज पठाइएको थियो।

वीरगञ्ज बाल सुधार गृहका प्रमुख टीकाकृष्ण काफ्लेका अनुसार भक्तपुरको समूह आएदेखि नै उच्छृंखल गतिविधि गर्ने, निहुँ खोज्ने गर्थे।

काफ्लेका अनुसार भक्तपुरबाट पठाइएकाहरूले बारम्बार त्यहाँबाट पनि अन्तै पठाउन माग गरिरहेका थिए।

‘हामी यहाँ बस्दैनौं, बस्यौं भने कि मार्छौं कि मर्छौं भनिरहन्थे,’ उनले भने।

बाल सुधार गृहमा मंगलबार साँझदेखि दुई समूहबीच भनाभन भएको थियो।

त्यसपछि बेलुका ८ बजे त्यहाँको नाइके र सहायक नाइके बस्ने कोठामै पुगेर भक्तपुरबाट लगिएको समूहले आक्रमण गरेको थियो।सुधार गृहमा लामो समयदेखि बसिरहेकाहरू प्रत्याक्रमणमा उत्रिएका थिए। अवस्था तनावपूर्ण बनेपछि काफ्लेलाई त्यहीँका बालकहरूले कोठाभित्र थुनेर राखिदिएका थिए।

‘ममाथि पनि खतरा भएपछि त्यहीँ बसेकाहरूले मलाई कोठाभित्र थुनेर राखिदिएका कारण म बाँचे,’ प्रमुख काफ्लेले भने।

झडपको क्रममा तोडफोड हुँदा १ करोडभन्दा बढीको क्षति भएको उनले बताए।

अवस्था तनावग्रस्त बनेपछि प्रहरी परिचालन गरिएको थियो। तर सुधार गृहभित्र रहेकाहरूले इँटा र रड प्रहार गरी प्रहरीलाई सुधार गृह वरपर आउन नै मुस्किल बनाएका थिए।

बाल कैदीबन्दीले प्रहार गरेको रड र ढुंगाले लागेर तीन जना प्रहरी घाइते भएका छन्। उनीहरू सामान्य उपचारपछि डिस्चार्ज भइसकेको डिएसपी थापाले बताए।

सुधार गृहमा भएको झडपमा ११ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको पनि उनले जानकारी दिए।

अहिले अवस्था सामान्य भए पनि सुधार गृह क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासन र सुधार गृहका अधिकारीबीच छलफल भएपछि मात्रै निष्कर्ष आउने डिएपपी थापाले बताए।

सुधार गृहका प्रमुख काफ्लेका अनुसार अहिले त्यहाँ क्षमताभन्दा साढे २ गुणा बढी बालक छन्। ११ वटा कोठा भएको वीरगञ्ज सुधारगृहको क्षमता ६० जना हो तर अहिले १४९ जना बालकहरू बसिरहेका छन्।

सुधार गृहमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जनाको टोली खटाइएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: