Loktantra Khabar National Weekly
Ad

‘तीतो बोली सच्चा गुण’ मञ्चन

लोकतन्त्र खबर
२६ भाद्र २०८०

विराटनगर — विराटनगरमा जारी विद्यालय नाटक महोत्सव २०८० अन्तर्गत सोमबार हाटखोलास्थित आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटक घरमा ‘तीतो बोली सच्चा गुण’ नाटक मञ्चन भएको छ । लोकेश दंगालको निर्देशनमा तयार नाटक ग्रेडेड इंग्लिस मिडियम सेकेन्डरी स्कुलका विद्यार्थीले मञ्चन गरेका हुन् ।

कक्षा ७ को अनिवार्य नेपाली विषयमा समावेश रामविक्रम सिजापतिको कथालाई नाट्य रूपान्तरण गरी विद्यार्थीले अभिनय गरेका हुन् । नाटकले मानिसको बोल्ने शैलीकै कारण भेदभाव गर्न नहुने सन्देश दिएको थियो । नाटकमा विद्यार्थी प्रश्रय विष्ट, मनीषा राजवंशी, कृतिका यादव, अनुष्का बराल, नेहा सिंह, सृष्टि सोरेनलगायतले अभिनय गरेका थिए ।

मंगलबार जेसी बालसदन माध्यमिक विद्यालयले ‘अबोध’ नामको नाटक मञ्चनको तयारीमा रहेको गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले बताए । भदौ ३१ सम्म जारी रहने महोत्सवमा विराटनगरका ९ विद्यालयले एक–एक नाटक मञ्चन गर्नेछन् । उत्कृष्ट नाटक, अभिनेता र अभिनेत्रीलाई अवार्ड पनि प्रदान गरिने आयोजक आरोहण गुरुकुल विराटनगरले जनाएको छ । ‘चम्किला अनुहारहरू’, ‘बिछोड’, ‘स्वाद’, ‘खैराती मास्टर’ र ‘आमा’ नामको नाटक मञ्चन हुने तयारीमा रहेको क्षेत्रीले बताए । यसअघि नेताजी, कोपिला, आधा सत्य र अबोध नाटक मञ्चन भइसकेको छ । कान्तिपुर

 

प्रतिक्रिया दिनुहोस्: