Loktantra Khabar National Weekly
Ad

एमाले बागमती प्रदेश अधिवेशन : अध्यक्षमा आकांक्षीको लर्को

लोकतन्त्र खबर
२२ भाद्र २०८०

मकवानपुर । एमालेको बागमती प्रदेश कमिटिको अध्यक्षको लागि आधा दर्जन बढी नेताहरुको नाम चर्चामा आएको छ । आगामी असोज ८ र ९ गते नेकपा एमालेको बागमती प्रदेश कमिटिको पहिलो अधिवेशन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदेश कमिटिको पहिलो अधिवेशनको आधिकारिक लोगो तयार गरी प्रचार प्रसारको काममा पार्टी कमिटि अघि बढेको छ ।

अध्यक्ष बन्न पार्टीको पोलिटव्यूरो सदस्यले पनि आकांक्षा देखाएका छन् । एमाले बागमती प्रदेश अध्यक्षका लागि वर्तमान अध्यक्ष नुवाकोटका केशवराज पाण्डेदेखि एमाले पोलिटव्यूरो सदस्य भक्तपुरका महेश बस्नेत सम्मको चर्चा रहेको छ ।

एमालेका एक नेताका अनुसार प्रदेश अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केशव पाण्डे सहित पोलिटब्युरो सदस्य महेश बस्नेत, अरुण नेपाल, धादिङका खेम लोहनी, रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल, चितवनका कृष्णभक्त पोखरेल, विजय सुवेदी र दोलखाकी रचना खड्का लगायतकाको नाम चर्चामा छ । कार्यकारी पद रहेकाले पार्टीको माथिल्लो तहका नेताहरुले समेत सो पदमा चासो व्यक्त गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भृकुटीमण्डप उद्घाटन सत्र सम्पन्न गरी बन्द सत्र भने प्रज्ञा प्रतिष्ठानको हलमा गर्ने एमाले बागमती प्रदेश कमिटिले जनाएको छ ।

एमाले बागमती प्रदेश कमिटिका उपसचिव महेश बर्तौलाका अनुसार अधिवेशनका लागि भदौ २७ गतेभित्र प्रतिनिधि चयनको कार्यतालिका रहेको छ । प्रदेशको ११९ वटा पालिकामा एकैपटक प्रतिनिधि चयन गर्ने कार्यक्रम रहेको उनले बताए ।

१ लाख ७हजारको संगठिन सदस्य रहेको बागमतीमा प्रदेश अधिवेशनका लागि १२०० भन्दा बढी अधिवेशन प्रतिनिधि चयन हुने उपसचिव बर्तौलाले बताए । जसमा एक तिहाई महिला प्रतिनिधि तथा ४० वर्ष भन्दा कम उमेरका युवाहरुको प्रतिनिधित्व १० प्रतिशत अनिवार्य गरिएको छ ।

प्रदेश कमिटिमा बहाल रहेका सदस्यहरुले प्रतिनिधि बन्न चाहेमा सम्बन्धित भूगोलबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था रहेको छ भने  ५० जना संगठित दलित सदस्य बराबर १÷१ जना प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ । साथै, पेशागत महासंघहरुबाट पनि अधिवेशनमा प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ ।

अधिवेशनबाट २४० सदस्यीय प्रदेश कमिटि चयन गर्नेछ । यसअघि एमाले प्रदेश कमिटि ४८७ सदस्यीय रहेको थियो । कार्यकारी समितिलाई चुस्त बनाउन समावेशी रुपमा सदस्यहरु चयन गरी कमिटिमा सदस्यको संख्या घटाएर निर्माण गरिने उनको भनाई छ । सदस्यको संख्या घटाइए पनि पदाधिकारीको संख्या भने यथावत रहेको उपसचिव बर्तौलाले बताए । रातोपाटी

 

प्रतिक्रिया दिनुहोस्: