Loktantra Khabar National Weekly
Ad

चरीकोटमा भव्य गाईजात्रा

लोकतन्त्र खबर
१५ भाद्र २०८०

दोलखा : हिमाली जिल्ला दोलखाको भीमेश्वर नगरपालिका क्षेत्रमा भने भव्य रूपमा गाईजात्रा पर्व मनाइएको छ। धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण दोलखाको भीमेश्वर नगरपालिका चरीकोटमा सांस्कृतिक चाड गाईजात्रा पर्वका अवसरमा बिहानैदेखि परम्परागत झाँकी एवं मौलिक बाजागासहितको यात्रा चलेको थियो।

पुरानो धार्मिक तथा सांस्कृतिक महŒव बोकेको दोलखा बजारबाट लालीगुराँस युवा क्लब तथा स्थानीय नेवार समुदायले निकालेको उक्त जात्रा बिहीबार दिनभर सदरमुकाम चरीकोटमा देखाइएको थियो। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो परम्परागत सांस्कृतिक पर्वका अवसरमा दोलखा बजार, पुरानो बजार तथा चरीकोट चोकको बजार क्षेत्रमा जात्रा हेर्नेको बिहानैदेखि भीड लागेको थियो।

पछिल्लो समय लालीगुँरास युवा क्लब र चरीकोटको पुरानो बजार, बीच बजार, चरिघ्याङ र भीमेश्वर नगरपालिकाको विभिन्न वडाका युवाहरूको समेत सहभागितामा परम्परागत पर्वहरूमा लाखेनाच, गाईजात्रा, कृष्णनाच, मारुनी नाचहरू प्रदर्शन हुँदै आएको स्थानीयको भनाइ छ।

जनैपूर्णिमाको दिनदेखि सुरु हुने मौलिकता झल्काउने स्थानीय मेला जात्राले सिंगो दोलखाको सांस्कृतिक झल्काउने गरेको स्थानीय जानकारहरू बताउँछन्। सधैं सुनसान देखिने सदरमुकाम चरीकोट गाईजात्रा पर्वको दिन भने जिल्लाका कुनाकाप्चाबाट जात्रा हेर्न जानेहरूको उपस्थितिले निकै चहलपहल देखिएको थियो। भीडका कारण सदरमुकाम चरीकोट हुँदै ओहोरदोहोर गर्ने सवारीसाधनलाई समेत आवतजावत गर्न समस्या भएको थियो।   

प्रतिक्रिया दिनुहोस्: