Loktantra Khabar National Weekly
Ad

पसलमा काम गर्ने युवतीसँग यौन दुर्व्यवहार, प्रमाण नष्ट गर्न सिसिटिभी फुटेज डिलिट

लोकतन्त्र खबर
२३ श्रावण २०८०

 बर्दिबासमा बलात्कार प्रयासको घटना सार्वजनिक भएको छ । पीडित युवतीले बर्दिबासका रविन गौतमविरुद्ध बलात्कार प्रयास गरेको आरोपसहित इलाका प्रहरी कार्यालय उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । 

गत साउन १६ मा पीडित युवतीले जाहेरी दिनासाथ प्रहरीले आरोपित गौतमलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो । उनै गौतमलाई पाँच दिन हिरासतमा राखेर आइतबार जिल्ला अदालत महोत्तरीमा बुझाएको छ ।

पीडित भनिएकी युवती आरोपित गौतमको किराना पसलमा काम गर्ने गरेको थिइन । पसलमा बसिरहेको वेला गौतमले बलात्कार प्रयास गरेको उनको आरोप छ । उमेरले १७ वर्षीय युवतीले काम गर्न लागेको एक महिना मात्र भएको थियो । ‘सुरुदेखि नजिक हुने र संवेदनशील अङ्गहरूमा छुने गर्थे,’ उनले भनिन् । युवतीको परिवारले यौन दुर्व्यवहार बारे १५ गते जानकारी पाए लगतै १६ गते प्रहरीमा गौतमविरुद्ध उजुरी दिइएको जनाएको छ ।

‘पैसाको लोभ देखाएर पटक पटक यौन प्रस्ताव पनि राख्दा रहेछन्,’ पीडित युवतीका मामाले भने, ‘हामीलाई पीडक रविनले धम्क्याए पनि, जे गर्न सक्छौ गर भनेपछि हामी प्रहरीकोमा पुगेका हौँ ।’  उनका अनुसार गत साउन १५ गते स्कुटर किनिदिन्छु भन्दै स्टोरमा सामान लिन गएको वेला जबरजस्ती गर्ने प्रयास गरेको पीडित युवतीले बताएकी छन् ।

पसलको सिसिटिभी फुटेज नै फर्म्याट

युवतिमाथि गरिएका यौन दुर्व्यवहारको प्रमाण नष्ट गर्ने उद्देश्यले सिसिटिभी फुटेज नै फर्म्याट भएको पाइएको छ । प्रहरीले थप प्रमाण बटुल्न सिसिटिभीमा कैद भएको भिडियो चेकजाँच गर्ने क्रममा डिलिट गरिएको पाइएको हो । अहिले गौतमको पसलमा भएको सिसिटिभीको हार्ड डिस्क प्रहरीले नियन्त्रण लिएको छ । हार्ड डिस्क रिकभरको प्रक्रियामा रहेको इलाका प्रहरीले जनाएको छ ।

यता आरोपित गौतमले भने आफूले काम गर्ने कर्मचारीसँग कुनै पनि यौनजन्य कार्य नगरेको प्रहरीलाई बयान दिएका छन् । विदेश जाने तरखर गरेको र पैसाको लागि आफूलाई सुनियोजित रूपमा फसाइएको उनले बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: