Loktantra Khabar National Weekly
Ad

अनाथ बालबालिकालाई हेल्पिङ ह्याण्डको सहयोग

लोकतन्त्र खबर
५ पुष २०७९


मनोज यादव—
सर्लाही,पुस ५
विद्यालय गइरहेका सर्लाहीका अनाथ बालबालिकाहरुको पढाइलाई निरन्तरता दिन हरिपुर नगरपालिकाका एक गैरसरकारी संस्था स्थानीय समाज विकास केन्द्रले सहयोगको हात बढाएका छन् । उक्त संस्थाले हेल्पिङ ह्याण्ड नामक एक अमेरिकी गैरसरकारी संस्थाको आर्थिक सहयोगमा बुवाको निधनपछि टुहुरा बनेका ५० जना बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्रीको साथसाथै जाडोमा लगाउन न्यानो कपडा वितरण गरेका छन् ।
आर्थिक अवस्था निकै कमजोर रहेका हरिपुर नगरपालिका क्षेत्र भित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत ४५ जना र मदरसामा अध्यनरत ५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
सार्वजनिक जनता माध्यमिक विद्यालय लक्ष्मीपुर कोद्राहमा एक कार्यक्रमको आयोजना गरि प्रत्येक बालबालिकालाई एक बोरा चामल, पाँच केजी पिठो, चार केजी चना, तीन लिटर खाने तेल, चार केजी दाल, दुई केजी नुन लगायतका खाद्यान्न सामाग्रीसहित शैक्षिक सामाग्री र चिसोलाई मध्यनजर गरी ५० जनामध्ये २६ जना बालिकालाई स्वीटर र पस्मिनाको सल तथा २४ जना बालकलाई ज्याकेट प्रदान गरिएको स्थानीय समाज विकास केन्द्रका सल्लाहकार टेकबहादुर थापाले बताउनुभयो ।
यसअघि राहत पाएका ५० जना बालबालिकाहरुको गएको मंसिर २८ गते प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा  हेल्थ स्क्रिनिङ गरि  उनीहरुको पठनपाठनमा टेवा पुगोस् भनी जनही १२ हजार रुपैयाँको चेक हस्तान्तरण समेत गरिसकेको थापाले जानकारी गराउनुभयो।
हेल्पिङ ह्याण्डका कार्यक्रम अधिकृत जीव पोखरेलले एउटा सानो सहयोग पनि अनाथ बालबालिकालाई ठूलो काम लाग्ने भन्दै आगामी दिनमा ५० जनाबाट बढाएर १०० जना अनाथ बालबालिकाहरु पुर्‍याउने संस्थाको लक्ष्य रहेको बताउनुभयो ।राहत पाएका ५० जनै बालबालिकाहरुलाई लगातार ५ वर्षसम्म यसैगरी सहयोग प्रदान गर्दै जाने पोखरेले जानकारी गराउनुभयो।
मधेसमा आर्थिक अवस्था कमजोर भएका घरका बालबालिकाहरु पैसाको अभावमा त्यसैपनि विद्यालय जाँदैनन् ।झन सानो उमेरमा बुवा गुमाएका बालबालिकाहरुलाई पढाइ लेखाइ छाडेर घरपरिवार चलाउने जिम्मेवारी आफ्नो काँधमा लिएर बालश्रम गर्नुपर्ने बाध्यता हुन्छ।पढ्ने उमेरमा बालश्रम गर्नबाट रोक्न र पढाइलाई निरन्तरता दिन ती संस्थाहरुले चालेको कदम सराहनीय रहेको भन्दै स्थानीय बुद्धिजीवीहरुले प्रसंसा गरेका छन् ।
कार्यक्रम स्थलमा भेटिएका टुहुरा बालबालिकाहरु राहत सामाग्री पाएर निकै खुसी भएको देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्: