Loktantra Khabar National Weekly
Ad

हुलाकी सडकको निर्माणकार्य सुरु गर्न माग गर्दै सर्लाहीका जनताहरु आन्दोलनमा उत्रिए,ठाउँठाउँमा प्रदर्शनसहित सडक अवरुद्ध

लोकतन्त्र खबर
२६ मंसिर २०७९

मनोज यादव—-
सर्लाही ,मंसिर २६
विगत लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको सर्लाहीको हुलाकी राजमार्गको निर्माणको माग राखेर सर्लाहीका जनताहरु आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनमा उत्रिएका स्थानीय  बासिन्दाहरु जिल्लाको ब्रम्हपुरी गाउँपालिका अन्तर्गत पर्ने भेल्हीदेखि मलंगवा नगरपालिका वडा न-२ को कृष्णा चौकसम्मको सडकको विभिन्न ठाउँहरुमा टायर बालेर सडक अवरुद्ध गरि प्रदर्शन गरिरहेका छन् । २०६८ सालमा ठेक्का लागेको हुलाकी राजमार्ग  ठेकेदारले लापर्वाही गरेका कारण लामो समयसम्म पनि अलपत्र अवस्थामा रहेको र पटकपटक जिल्ला प्रशासनको रोहवरमा स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायलाई राखेर छलफल गर्दा समेत ठेकेदार कम्पनीले कुनै सुनवाइ नगरेपछि बाध्य भएर आफुहरुलाई आन्दोलनमा उत्रिनु परेको स्थानीयहरुले बताएका छन् ।
केही दिन अगाडी प्रतिनिधि तथा प्रदेश सभाको चुनावको बेला कौडेना गाउँपालिकाका जनताहरु नो-रोड,नो-भोंट भन्ने नाराका साथ  यसैगरी  सडक अवरुद्ध गरि आन्दोलन गरेका थिए। मतदान गर्ने दिन अगाडीसम्म सडक नबनेमा चुनाव  बहिष्कार गर्ने भनि स्थानीयहरुले दिएको चेतावनी पश्चात् निर्माणको जिम्मेवारी पाएका ठेकेदार कम्पनीले लगभग आधा किलोमिटर जति सडक बनाएर चुनाव पछि बनाउने भनि बिचमै काम रोकेका थिए। चुनाव सकेको १ महिना बितिसक्दा पनि ठेकेदारले कुनै चासो नदेखाएपछि हुलाकी सडक खण्ड अन्तर्गतका बासिन्दाहरुले पुनः आन्दोलन सुरु गरेका हुन्।
यसपटकको आन्दोलन निर्णायक आन्दोलन भएकोले काम सम्पन्न नभएसम्म आफुहरु चुपलागेर नबस्ने
उनीहरूले चेतावनी दिएका छन् ।
मलंगवादेखि पूर्वतर्फ सङ्ग्रामपुरसम्म, मलंवादेखि पश्चिम रोहुवासम्म र त्यहाँदेखि बलरासम्म तीन खण्डमा गरी सडकको ठेक्का लागे पनि ठेकेदारले केही समय अघि माटो भर्नेलगायत सामान्य काम गरे पनि अन्य काम अघि बढाएको छैन ।
हुलाकी सडक छेउछाउको बसाइँ र यात्रा अत्यन्त कष्टकर बनिरहेको स्थानीय बासिन्दाले गुनासो गर्दै आइरहेका छन् ।सडक नबन्दा धुलोले कष्टकर  जनजीवन बिताइरहेका जनताहरु सांसद, स्थानीय निकायका प्रमुख तथा  नियमनकारी निकायसँग  आक्रोशित भएका छन्  ।

प्रतिक्रिया दिनुहोस्: