Loktantra Khabar National Weekly
Ad

माण्डवी द्वारा राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना

लोकतन्त्र खबर
२२ मंसिर २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर २२
मधेस प्रदेश अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवामा राजनीतिमा महिलाको अर्थपुर्ण सहभागीताको लागि सरोकारवालाहरुको भूमिका  विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मलंगवा नगरपालिका वडा न-९ स्थित नवरंग होटलको सभाहलमा माण्डवीको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  राजनीतिमा महिलाहरुको सहभागीता कसरी बढाउन सकिन्छ र   जिम्मेवारी तहमा अथवा प्रमुख पदमा पुगिसकेका महिला नेतृहरुको के-के भूमिका रहन्छ भन्ने विषयमा छलफल गर्न सरोकारवालाहरु सँग अन्तरक्रियाको आयोजना गरिएको माण्डवीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी दिए।
आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत सर्लाहीको विभिन्न पालिकाहरुको महिला जनप्रतिनिधिहरुको लागि विभिन्न चरणको प्रशिक्षण कार्यक्रमहरु संचालन गरि उनीहरूको आत्मविश्वास र नेतृत्व सिपलाई निखारेर उनीहरूको भूमिकालाई अझ बढी प्रभावकारी ढंगबाट निर्वाह गर्न थप सीप र ज्ञानको विकास गरेको श्रेष्ठले बताए।

कार्यक्रममा बोल्ने सबै वक्ताहरुले आ आफ्नो कुराहरु राख्दै पार्टीमा वा संस्थामा महिलालाई प्रमुख जिम्मेवारीमा ल्याउन संघर्ष गर्ने र सकेसम्म ल्याउने प्रतिबद्धता गरेका छन ।कार्यक्रममा उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले लैंगिक हिंसा न्युनिकरण गर्ने समेत प्रतिबद्धता गरेका छन् ।
जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा कबिलासी नगरपालिकाका उपप्रमुख पुनम कर्ण,हरिपुर्वा न.पा का प्रमुख बिनोद साह,उपप्रमुख सुमित्रा देवी यादव,हरिवन न.पा का उपप्रमुख हरिमाया घलान,जिल्ला प्रहरी कार्यालय महिला सेलका प्रतिनिधि ,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य माण्डवीकी रमा पौडेलले राखेका थिए भने संचालन अनुगमन अधिकृत रामआज्ञा साहले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: