Loktantra Khabar National Weekly
Ad

इन्गेज परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको समीक्षा तथा बहिर्गमन बैठक सम्पन्न, परियोजना सफल रहेको निष्कर्ष

लोकतन्त्र खबर
२१ मंसिर २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर २१
सर्लाही जिल्लाको मलंगवा नगरपालिका र कौडेना गाउँपालिकामा संचालित किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम(इन्गेज)परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको समीक्षा तथा बहिर्गमन बैठक बुधबार सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।
विगत चार वर्षदेखि  प्रेरणा,भि.एस.ओ र एच.आइ को साझेदारीमा मलंगवा र कौडेनामा  संचालित इन्गेज परियोजना सफल रहेको जिल्ला सल्लाहकार समितिको बैठकमा उपस्थित सरोकारवाला निकायका पदाधिकारीहरुले बताएका छन् । कार्यक्रममा बोल्दै  जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले यस किसिमको परियोजनाबाट दुवै पालिकाका सयौं बालबालिका सहित सयौ घर परिवार लाभान्वित भएको र यसले राज्यको काममा सघाएको भन्दै परियोजनालाई धन्यवाद ज्ञापन गर्नु भएको छ।
परियोजनाकी ठुली दिदी सोविता यादवले परियोजनाको सुरुवात,चुनौती,संचालन गर्दाको समयमा भोगेका समस्या र सफलताको बारेमा कार्यक्रममा उपस्थित अतिथिहरुलाई विस्तृत रुपमा जानकारी गराएका थिए।सन् २०१८ देखि संचालन भएको यस परियोजनाबाट मलंगवा र कौडेनाका १० वर्षदेखि १९ वर्ष उमेर समूहका जम्मा ९१९ जना बालबालिका तथा अपाङ्गता भएका किशोर-किशोरीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको प्रेरणाका कार्यकारी निर्दैशक कपिल पोखरेलले जानकारी गराउनुभयो।
मलंगवा स्थित महेन्द्र होटलमा जिसस सर्लाहीका सभापति सिंहको अध्यक्षता,सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारी,प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट डा.नवल किशोर झा,कौडेना गापा का प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवको विशिष्ट आतिथ्यता तथा नागरिक समाजका सर्लाही जिल्ला अध्यक्ष उग्रकांत झा,पब्लिक मावि मलंगवाका प्रअ सुवास यादव,विभिन्न संघसंस्थाका पदाधिकारी,परियोजनाका कर्मचारी, जनप्रतिनिधि,पत्रकारहरु लगायतको उपस्थिति रहेको यसै कार्यक्रम मार्फत प्रेरणाका कार्यकारी निर्देशक पोखरेलले परियोजना फेज आउट भएको समेत घोषणा गरेका थिए।
कार्यक्रमको संचालन प्रेरणाका कार्यक्रम संयोजक रामचन्द्र चौधरीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: