Loktantra Khabar National Weekly
Ad

सार्वजनिक सडकमा धान र पराल थुपार्दा आवत जावतमा समस्या, रोक्दा विवाद हुने डरले समस्या भएपनि सहेर हिड्नु पर्ने बाध्यता

लोकतन्त्र खबर
१६ मंसिर २०७९

मनोज यादव—
सर्लाही,मंसिर १६
तराईमा अहिले धान काटेर घरमा थुपार्ने बेला भएको छ। ग्रामिण क्षेत्रका किसानहरु थ्रेसरबाट धान झार्न सडक मै धान थुपार्दा सो सडक भएर आवत जावत गर्ने यात्रु तथा सवारीसाधनहरुलाई विभिन्न समस्याहरु झेल्नु परेको छ।
धान झार्नको लागि प्रयोग गरिने थ्रेसर मेसिन खेत खेतसम्म पुर्याउन  असहज भएकोले किसानहरु सार्वजनिक सडकमै धान थुपारेर झार्दा सडक दुर्घटना हुनुका साथै वातावरण दुषित भएर मानिसको स्वास्थ्यमा समस्या उत्पन्न भइरहेको छ। सर्लाही जिल्लाको विभिन्न स्थानमा यतिबेला किसानलाई धान थन्क्याउने चटारो छ । कबिलासी नगरपालिका वडा न-९ सलेमपुरका  किसान घनश्याम यादवले खेत सुख्खा नभएको कारण खेतसम्मै थ्रेशर पुर्याउन समस्या भएपछि बाटोमै धान थुपारेर झार्न लगाउनु परेको बताए ।उनले भने, ‘‘बाटो मै धान थुपार्दा सवारी साधनहरुको आवागमनमा समस्या हुन्छ । वातावरणमा समेत असर पर्छ, तर मेहनत गरेर फलाएको धान थन्क्याउका लागि बाध्य भएर बाटोको प्रयोग गर्नु परेको हो ।’’
थ्रेशर चलिरहेको सडक भएर आवत जावत गर्ने मानिसहरुको  आँखामा परालको धुलो परेर समस्या भोग्नु परेको मलंगवा नगरपालिका वडा न-२ का युवा राजेश साहको गुनासो छ । साहकाअनुसार अन्य सवारीहरुको तुलनामा सबै भन्दा बढी सडकमा धानको पराल थुपारेको थाहा नपाएर तीव्र गतिमा कुदाइएका मोटरसाइकलहरु दुर्घटनामा पर्ने गरेको छ।
थ्रेसर मेसिन चलिरहेको बेला त्यसबाट उड्ने धुलोले वातावरणमा समेत असर पारेको पाइन्छ । जसका कारण मानिसहरुको स्वाँस प्रस्वाँसमा गम्भीर समस्या उत्पन्न हुने गरेको मलंगवा-१० स्थित स्तुति सौम्या हेल्थ केयर अस्पतालका चिकित्सक डा.गुणेश्वर झाले बताए।
बटुवाहरु धान र पराल थुपार्ने किसानलाई यस्तो नगर्न भनि आग्रह गर्दा उनीहरू सँग विवाद हुने डरले आजसम्म कसैले पनि त्यसको विरोध नगरि सहेरै भएपनि हिड्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्: