Loktantra Khabar National Weekly
Ad

बच्चा चोरको अफवाहमा नलाग्न सर्लाही प्रशासनको आग्रह

लोकतन्त्र खबर
२५ भाद्र २०७९

बखतियार अलि–

सर्लाही,भाद्र २५ । विगत केही दिनदेखि सर्लाही जिल्लाभरि व्यापक रुपमा मौखिक रुपमा तथा सामाजिक सञ्जालमा चर्चा पाइरहेको “बच्चा चोर” को विषय अफवाहमात्रै भएको सर्लाही प्रशासनले दाबी गरेको छ ।

जिल्लाको कुनैपनि ठाउँबाट बच्चा चोरी गरेको आरोपमा एकजना ब्यक्ति पनि पक्राउ नपरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताएका छन्। केही गिरोहहरु भारतको बिहार तथा उत्तर प्रदेशबाट नेपाल प्रवेश गरेर नेपालका विभिन्न सिमावर्ती गाउँ, सहर तथा बजारबाट बच्चालाई फकाएर चोर्ने गरेको भन्ने कुरा हल्ला मात्रै भएको उनको भनाई थियो ।

भारतसँग सीमाना जोडिएका सर्लाहीका केही क्षेत्रहरुबाट बच्चा चोरेको आरोपमा केही ब्यक्तिहरु पक्राउ परेको भन्ने हल्लाले अहिले विभिन्न सामाजिक संजालमा व्यापक रुपमा चर्चा पाइरहेको छ । यसै विषयमा प्रहरी प्रमुख एसपी प्रविण पोखरेलसँग बुझ्दा उनले जिल्लाको विभिन्न ठाउँबाट बच्चा चोरेको आरोपमा हालसम्म ५ जना ब्यक्तिहरु पक्राउ परेको जस मध्येबाट ४ जनाको मानसिक अवस्था ठिक नभएको र मागेर खाने ब्यक्तिहरु रहेका छन् भने एकजना भारतबाट आफ्नो हराइरहेकी श्रीमतीलाई खोज्दै नेपाल आएका ब्यक्ति रहेको बताएका छन् । उनीहरूलाई केही स्थानीय ब्यक्तिहरुले शंकाको आधारमा कुटपिट गरि प्रहरीको जिम्मा लगाएको एसपी पोखरेलले बताए । पक्राउ परेका पाँचैजना ब्यक्तिहरु माथि अनुसंधान गर्दा उनीहरु बच्चा चोर नभएको उनले पुष्टि गरेका छन् ।

केही ब्यक्तिहरुले बच्चा चोरको विषयलाई विभिन्न सामाजिक संजालमा अफवाहको रुपमा फैलाएर जनतालाई भ्रमित र त्रसित बनाउने काम मात्र गरेकोले अफवाहको पछाडी नलाग्न प्रमुख जिल्ला अधिकारी गौतमले आग्रह गरेका छन् । प्रहरी प्रशासन पूर्णरूपमा सकृय रहेकोले चिन्ता नलिन उनले जनतासँग अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: