Loktantra Khabar National Weekly
Ad

सत्ता गठबन्धनमा जाने बाटो बन्द भएपछि लोसपाले रोज्यो अर्को विकल्प

लोकतन्त्र खबर
२० भाद्र २०७९

काठमाडौं । पाँच दलीय गठबन्धनमा सामेल नहुने लगभग पक्का भएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेकपा एमालेसँग निकटता बढाउन थालेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा लिने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रगति नभएका कारण लोसपाले विकल्प खोजेको हो । स्रोतका अनुसार लोसपाका शीर्ष नेताहरुले एमालेसँग अनौपचारिक छलफल सुरु गरिसकेका छन् ।
लोसपाले एमालेबाहेक अन्य साना दलसँग छलफलका लागि कार्यकारिणी सदस्य उमाशंकर अरगरियाको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । सो समितिले एमालेलगायत सीके राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीसँग छलफल सुरु गरेको छ ।
केही महिना अघि लोसपा र एमालेबीच चुनावी तालमेल हुने चर्चा थियो तर सत्ता गठबन्धनमा सामेल गर्ने आश्वासन पाएपछि लोसपाले एमालेसँग सम्बन्ध तोडेको थियो । प्रधानमन्त्री देउवाले नै लोसपाका नेताहरुलाई बालुवाटारमा बोलाएर छलफलसमेत गरेका थिए । तर अहिलेसम्म गठबन्धनमा सामेल गर्नेबारे ठोस प्रगति नभएको भन्दै लोसपाले एमालेसँग फेरि निकटता बढाएको हो ।
लोसपाका कार्यकारिणी सदस्य एवं वार्ता समितिका सदस्य उमाशंकर अरगरियाले भने, ‘अब पाँच दलीय गठबन्धनमा नजाने लगभग निश्चितजस्तै भएको छ । मधेसमा रहेका दलसहित अर्को नयाँ गठबन्धन बनाउने तयारी चलिरहेको छ । केही दिनमा त्यसको टुङ्गो लाग्छ ।’
एमालेसहितको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई पनि सामेल गराउने प्रयास हुने उनको भनाइ छ । यदि जसपाले एमालेसहितको गठबन्धनमा आउन नमानेको अवस्थामा एमाले–लोसपासहित अन्य साना दलहरु चुनावी गठबन्धन बनाएर अगाडि बढ्ने उनले बताए । तर नयाँ गठबन्धनमा जसपा सामेल हुनका लागि उसले आत्मालोचना गरेर आउनुपर्ने उनले प्रस्ट पारे ।
त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीसँग एकचरण वार्ता भइसकेको उनले जानकारी दिए । कुन दलको शक्ति कति छ र कुन दलले कहाँकहाँ जित्न सक्छ भन्ने तथ्याङ्क दलहरुले तयार पारेर त्यसमाथि पुनः छलफल हुने बताइएको छ ।
कार्यकारिणी सदस्य अरगरियाले भने, ‘एउटा सत्ता गठबन्धन छ, अर्कोतिर विपक्षी गठबन्धन पनि बन्छ, त्यसका लागि जोडतोडका साथ तयारी चलिरहेको छ, यो महिनाभित्र केही केही नयाँ सुन्न पाउनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्: