Loktantra Khabar National Weekly
Ad

मल कालोबजारी गरेको भन्दै बाराको कृषि सहकारीमा शिलबन्दी

लोकतन्त्र खबर
१५ भाद्र २०७९

१४ भदौ, वीरगञ्ज । सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा बारामा एउटा कृषि सहकारी संस्थामा शिलबन्दी गरिएको छ । कलैया उपमहानगरपालिका–२३ भतौडा कोइरिया टोलस्थित कुश कृषि सहकारी संस्थामा शिलबन्दी गरिएको हो ।

किसानले दिएको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले शिलबन्दी गर्नुका साथै सहकारीमा राखिएको ५० किलोका २०९ बोरा र खोलिएको तीन बोरा मलसमेत बरामद गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष कलैया उपमहानगरपालिका–२३ बस्ने अरुण कुशवाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

२ हजार २५० रुपैयाँ पर्ने डीएपी मललाई सहकारीले २ हजार ८५० रुपैयाँमा बिक्री गरेको र बिलसमेत नदिएको उजुरी एक किसानले गरेका थिए । कृषि सामाग्री कम्पनीको कलैयास्थित कार्यालयबाट युरिया ७८० रुपैयाँ र डीएपी २ हजार २ सय ३० रुपैयाँमा बिक्री हुने गरेको छ । स्थानीय पालिकाले ढुवानी भाडा र प्रतिकिलो १ रुपैयाँ नाफा जोडेर तोकेको बिक्री मूल्यमा मात्रै डिलरले मल बिक्री गर्न पाउँछ ।

कृषि सामाग्री कम्पनी लिमिटेडको कलैया स्थित कार्यालयका प्रमुख पुरुषोत्तम सिंहले भने सहकारीले पालिकाले तोकेको दरमा मात्रै अनुदानको रासायनिक मल बिक्री गर्न पाउने बताए ।

उनले भने, ‘अनुदानको रासायनिक मलको स्थानीय बिक्री मूल्य निर्धारण गर्ने, नियमन गर्ने अधिकार पालिकालाई नै छ । सहकारीले पालिकाले तोकेको मूल्यमा मात्रै बिक्री गर्न पाउँछ ।’

प्रतिक्रिया दिनुहोस्: