Loktantra Khabar National Weekly
Ad

सामाजिक सञ्जालले बालबालिकामा परेको असरप्रति जुकरबर्गले मागे माफी

लोकतन्त्र खबर
१८ माघ २०८०

काठमाडौं  माघ १८, फेसबुकको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट बालबालिकामा परेको नकरात्मक असरप्रति उनीहरुका परिवारसँग माफी मागेका छन् ।

जुकरबर्गले सामाजिक सञ्जालको प्रयोगले आफ्ना बालबालिकालाई असर गरेको भन्दै आफ्ना बच्चाहरूको तस्वीर राख्ने अभिभावकसँग अमेरिकी सिनेटमा भएको सुनुवाइका क्रममा माफी मागेका हुन् ।

सिनेट सदस्यहरुले जुकरबर्गसहित अन्य सामाजिक सञ्जालहरु टिकटक, स्न्याप, एक्स र डिस्कर्डका मालिकहरूसँग बालबालिकामा हुने हानी रोक्न उनीहरू के गर्दैछन् भनेर प्रश्न गरेका थिए ।

त्यस क्रममा रिपब्लिकन सिनेटर जोश हलेले पीडित परिवारसँग माफी माग्नका लागि जुकरबर्गलाई बोलाइएको बताए । त्यसपछि जुकरबर्गले उठेर त्यस्ता परिवारसँग माफी मागेका हुन् । यो सुनुवाइको अवलोकनका लागि पीडित बालबालिकाका अभिभावक पनि उपस्थित थिए ।

विभिन्न प्रलोभनमा पारेर सामाजिक सञ्जालमार्फत बालबालिकाका यौन शोषणमा पर्ने गरेको, उनीहरुलाई नग्न तस्वीर शेयर गर्न लगाउने र पछि ब्ल्याकमेल गरी पैसा माग्ने र बालबालिकाहरू आत्महत्या गर्न बाध्य हुनेसम्मका घटना हुने गरेको सिनेटरहरले बताएका थिए ।

टिकटकका सीईओ सोउ जी चिउलाई सिनेटरहरुले उनको कम्पनीले अमेरिकी प्रयोगकर्ताको डाटा चिनियाँ सरकारसँग साझेदारी गरेको हो कि भनेर सोधिएको थियो । जसलाई उनले अस्वीकार गरे । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: